विराटनगरमा नर्सको हत्या प्रकरण : आरोपित युवक पनि मृत भेटिए

मोरङ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवक पनि मृत भेटिएका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका– २१ का २३ वर्षीय शिवशंकर दास विराटनगर महानगरपालिका–४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशंकर झुन्डिएको अवस्थामा फेला परेका थिए । चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशंकर गत फागुन २६ गते मलेसियाबाट नेपाल फर्केका थिए ।

सिरहाको धनगढी नगरपालिका–६ फुल्काहापट्टी घर भएकी चन्द्रिकाकुमारीको विराटनगर–४ बुढाथोकी मार्गको एउटा घरमा गत शुक्रबार हत्या गरिएको थियो । उनको शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रवक्ता दाहालले बताए । चन्द्रिकाकुमारी र शिवशंकरबिच प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।– रासस

प्रतिक्रिया