चितवनका घडियाल कञ्चनपुरमा !

तस्वीर : राजेन्द्रप्रसाद पनेरु /रासस

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४ दशकपछि घडियाल गोही राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट लगिएका ३ वटा भाले र २२ वटा पोथी घडियाल शनिबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधर नदीमा छाडिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताए । संकटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रूपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनस्र्थापन गरिएको जानकारी दिए ।

‘बासस्थानको पहिचान भएकाले विस्तृत अध्ययनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कात्तिकमा निर्णय गर्दै वरिष्ठ इकोलोजिस्ट श्यामकुमार साहको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेर चौधर नदी क्षेत्रको १९.०३ किलोमिटर क्षेत्र सर्वेक्षण गरेको थियो,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘सो प्रतिवेदनका आधारमा वन मन्त्रालयले यहाँ गोही चरणबद्ध रूपमा छाड्ने निर्णय गरेको हो ।’

घडियाल गोही स्वच्छ बगेको पानीमा पाइने, आहाराका रूपमा साना माछा मात्र खाने र सामान्यतया मानिसलाई असर नगर्ने संरक्षित लोपोन्मुख घस्रिने प्रजाति हो । यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ एकसिंगे गैँडासमेत स्थानान्तरण गरिएको थियो भने चितवनबाट एक हात्ती पनि यहाँ ल्याइएको निकुञ्जले जनाएको छ ।

शनिबार बिहान चौधर नदीमा गोही पुनस्र्थापन कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरीशचन्द्र राना, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा र कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतको सहभागिता थियो ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, बाह्रसिंगालगायत वन्जयन्तुको संख्यामा वृद्धि हुँदै गएको छ । ‘घडियाल गोही संरक्षण कार्यका लागि चौधर नदी क्षेत्र एवं आसपासका मध्यवर्ती क्षेत्र र स्थानीय सरोकारवालासँग यिनको बासस्थान व्यवस्थापनसम्बन्धी प्रचारप्रसार गरी संख्या वृद्धि र पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्य हो,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘गोही पुनस्र्थापनमा सहयोग गर्ने सबै दातृ निकाय एवं सरोकारवाला निकायप्रति आभारी छौँ ।’

उनले घडियाल गोही पुनस्र्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, जेड एसएल नेपाललगायत संस्थाको सहयोग रहेको जानकारी दिए । गोही पुनस्र्थापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बोहराले शुक्लाफाँटा प्रचुर पर्यटकीय सम्भावना बोकेको निकुञ्ज भएको बताए । ‘वन्यजन्तुको संरक्षणमा सबैको हातेमालो हुन जरुरी छ,’ उनले भने, ‘आज एउटा असल कार्यको थालनी भएको छ ।’

प्रतिक्रिया