‘स्वच्छन्द साँझ’मा सम्मोहित समयको पृथक मज्जा

उनी मनलाई दुःखाउँछन्, अस्वस्थ समाज र यसले थोपरेका विभिन्न विसंगतिबोध गराउँछन् । समाज र यसले थोपरेका विभिन्न मनोदशा कथा र तिनका पात्रमार्फत सार्वजनिक गराउँछन् । कथामार्फत समाजका नारीमाथिका उत्पीडन, अपमान, तिरस्कार र घृणा उजागर गर्छन् । समसामयिक सन्दर्भहरूमाथि संवेदनशील भएर कथा लेख्न खप्पिस छन् रत्न प्रजापति । पढ्दा पट्यार नलाग्ने, हाम्रै परिवेश वरपरका मान्छेका जीवनका अनेकौँ पाटाहरूको खोतलखातल नै उनका कथाका प्लट बनेका देखिन्छन् ।

नेपाली साहित्यमा कथालाई माहिलो विधा मानिन्छ । लघु संरचनामा पर्ने कथा आख्यानात्मक रचना हो । जुन नेपाली साहित्यको फाँटमा लोकप्रिय विधा मानिन्छ । यो विधामा रत्न प्रजापति स्थापित नाम हो । विशेषतः यौन अन्तर्वस्तुमा रहेर कलम चलाउने उनी असाध्यै सरल र सहज कथानकता भित्र वर्णनात्मक र संवादात्मक भाषाशैलीमा कथा बुन्छन् । स्थानीय पात्र, वरपरकै घट्ना, परिवेशलाई टपक्कै टिपेर कथा रच्छन् । सरल र बोधगम्य लेखनीका धनी लाग्छन् रत्न प्रजापति । प्रस्तुत ‘स्वच्छन्द साँझ’ मा मध्यम आयामका कथाहरू परेका छन् ।

उनका कथाहरूले पाठकको मन सजिलै खिच्छ । आमसर्वसाधारण पाठकले बुझ्ने सरल भाषाशैली प्रयोग गरिएको हुन्छ । उनी आकर्षक र कुतूहलता मच्चाउने कथा लेखनमा माहिर देखिन्छन् । सामान्य लागेता पनि शीर्षकले प्रभावकारी ढंगले कथालाई बाँधेको पाइन्छ । उनका कथाका शीर्षकसमेत प्रायः छोटा लाग्छन् । कथाहरू बान्की परेका, रोचक लाग्छन् । प्रायः कथाहरू विभिन्न अनावश्यक उपकथा नजोडिई लेखिएकाले पाठकलाई दिक्क बनाउँदैनन् । रुचिला लाग्छन् कथाहरू । कथा लेख्ने प्रजापतिको छुट्टै आफ्नोपन र फरक शैली यहाँ पनि झल्केको छ । कथामा घट्नाक्रम सहज र सरल तरिकाले अगाडि बढेको पाइन्छ । मानवीय कथ्यमा रहेका विषयगत रूपले विविध अन्तर्वस्तुमा रहेका २५ कथाहरूको एउटा संग्रह बनेको छ ‘स्वच्छन्द साँझ’ ।

‘स्वच्छन्द साँझ’ मा पनि प्रायः यौन नै यौन पोखिएका कथाहरूले स्थान पाएका छन् । यौनलाई कथ्य बनाइएका कथाहरू छन् । ‘बोध, उफान, म तिमीलाई माया गर्छु, बेतुक’ आदि कथामा यौन प्रवृत्ति देखिएको छ । कथाहरूमा यौन अनुगुञ्जित विषयले स्थान पाएको छ । पहिलो कथा ‘रिस’मा शारीरिक कुरुपताको कारण विवाह हुन नसकेकी महिलाको उत्तेजना, आवेग र रिस पोखिएको छ । समाजमा उसले बेहोर्नुपरेको हैरानीको कारण रिसाएकी महिलाको कथा बुनिएको छ । एउटी लोग्नेको सानिध्यताबाट टाढा भएकी महिलाको मनोदशाको कथा हो ‘अकस्मात्’ जहाँ उसले लोग्नेको बेसहाराको महसुस गरेकी छ, अभाव महसुस गरेकी छ यस कथामा उसको यौनाकांक्षा र यौन मनोदशा मज्जाले छताछुल्ल देखाइएको छ । यस्तै विषयवस्तुमा छ ‘फागुको रङले तरंगिएको मन’ कथा । कथामा एउटा अभिभावक हुनुपर्ने मान्छेले एउटा किशोरवय टेक्दै गरेकी युवतीबीचको यौनाकांक्षा र चाहलाई बडो सकारात्मक रूपमा जैविक आवश्यकता जसरी व्यक्त गरिएको छ ।

‘उफान, म तिमीलाई माया गर्छु’,लगायतका कथाहरू यौनकै वरिपरि घुमेका छन् । तिनमा पनि महिला पुरुषबीचको यौन सम्बन्धका विषयवस्तुहरू अक्कर बनेर आएका छन् । यौन जीवनका पीडा, प्रवृत्ति र परिवेशका त्रिवेणी कथा हुन तिनीहरू । तिनमा विपरीत लिंगप्रतिका जैविक आकांक्षा र आशक्तिका कथाहरू वडो बिम्बात्मक रूपमा चित्रण गरिएका छन् । मानसिक यौनमा तरंगित व्यक्तिहरूका कथाहरू मज्जाका लाग्छन् ।
केही कथा यौन विषयवस्तुभन्दा पर रहेका छन् । यस्ता वर्गका कथामा वर्तमान राजनीतिमा देखिएका विकृति र विसंगतिहरूमा कटाक्ष गरिएका छन् । बेथितिविरुद्ध पटाक्षेप पनि गरिएको छ । हाम्रा वर्तमान समाजका यथार्थपरक विषयवस्तुहरूमाथि लेखिएका कथाहरू छन् । उनले वर्तमान राजनीतिक परिवेशलाई ब्यंगात्मक रूपमा उजागर गरेर त्यसभित्र रहेका विद्रुप पक्षलाई नंग्याएका छन् । ‘आघात’ कथा वर्तमान राजनीतिको विद्रुप चित्र हो । यस कथामा नेतृत्वप्रतिको आक्रोश र मुलुकको दुरावस्थाको एक पात्रमार्फत चिन्ता व्यक्त भएको छ । यो कथालाई नेपाली वर्तमान राजनीतिलाई चित्रण गर्ने प्रतिनिधिमूलक कथा मान्न सकिन्छ ।

यसैगरी विसंगतपूर्ण समाजका नकारात्मक कुराहरू कथाहरूमार्फत छर्लंग पारेका छन् । यस कोटीमा ‘सदृश पीडा, पछुतो, पिँढी, स्वच्छन्द साँझ’ आदि कथाहरू यतातिर देखिन्छन् । वर्तमान युवाहरूका पीडाहरू खोतलेका छन् प्रजापतिले कथाहरूमा । दुःख गरेर जीविकोपार्जन गर्ने श्रीमानका श्रीमतीहरूले प्रस्तुत गरेका हर्कतहरू बडो मज्जेदार लाग्छन् । राजनीतिक दललाई भोट हालेर आशावादी बनेकाको खुसी निमेषभरमै चुरचुर भएको कथा हो ‘पछुतो’ । श्रीमान टाढा हुँदाका श्रीमतिका व्यथाहरूलाई बडो मज्जाले पोखेका छन् कथामार्फत । तिनका मनोदशालाई अत्यन्तै रोचक र कुतूहलमय ढंगले प्रस्तुत गरेका छन् । शीर्षक कथामा आज विभिन्न उत्सवमा हुने गरेका पार्टी, क्लब र डिस्कोका छाडापनलाई सचित्र प्रस्तुत गरिएको छ । कथाहरूले उनीहरूको मानसिकतालाई उजागर गरिदिएको छ ।

विगतको द्वन्द्व र त्यसले पारेको असरका सन्दर्भहरूको विषयवस्तुमा पनि रत्नले कथा बुनेका छन् । ‘सडकबासी, राहत, अब के हुन बाँकी छ ?’ जस्ता कथाहरूमा परिवर्तनपछि रोजगारीको अपेक्षा गरेका युवाहरूको कथा बडा मार्मिक छन् । यिनमा देशको आर्थिक जर्जरता र दुरावस्था उजागर गरेका छन् । हिजोको द्वन्द्वमा जीवनसाथी गुमाएकी खुस्केकी आइमाइको पति बिछोडमा पुगेको पीडाको मनोदशा पनि कथामा उतारिएको छ । माओवादी द्वन्द्वकालीन समयका आमजनताले बेहोर्नुपरेका दुःख र हैरानीका मनोभाव ‘एउटा अर्काे अध्यायको संघारमा र अब के हुन बाँकी छ’ जस्ता कथाले प्रष्ट पारेका छन् । यी सबै हाम्रा निम्न मध्यमवर्गीय परिवारले दैनिक भोग्नुपरेका समस्यासँग सम्बन्धित यथार्थपरक कथा हुन् ।

उनका कथाहरूले महिलाको मनोदशालाई पनि छोएका छन् । हाम्रा परिवेशका महिलाहरूको पीडा, कुन्ठा र भोगाइका बल्ग्रेन्ती संघर्षका कथाहरू पनि यस कथा संग्रहमा परेका छन् । उनीहरूमा हुने शारीरिक र मानसिक अवस्थाहरूको सांगोपांगो प्रस्तुति पनि छन् यहाँ । ‘चंगा, हैसियत, आफ्नो बाटो’ जस्ता कथाहरूमा पीडामा परेका, असहाय, एकल महिला जसलाई समाजले जहिल्यै खेद्छ तिनीहरूको कथा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कथाकारले उपत्यकाको नेवारी संस्कृतिलाई पनि आफ्ना कथाका विषय बनाएका छन् । ‘आड, पाहाँचह्रे’ जस्ता कथाहरूले यसलाई प्रतिनिधित्व गर्दछन् । यी कथाहरूमा नेवारी संस्कारमा गरिने विवाह परम्पराहरू परेका छन् । यी कथाहरू पढ्दा मज्जा आउँछ । नेवारी संस्कारको बारेमा जानकारी पाइन्छ ।

आममान्छेका जीवन, तिनमा आइपरेका जटिलता, यौनमनोविज्ञान, नारीका समस्या उनका कथाका विषय बनेका छन् । मसिनो कुरामा कथा बुन्न सक्नु कथाकारको खुबी देखिएको छ । जनबोलीका सरल बिम्बहरूको प्रयोग, विषय विविधतायुक्त कथानकता, विपरीत लिंगप्रति आकर्षकता र सम्बन्ध, माया प्रेमका विराटता, यौवनवयका मनोदशा, मानिसका आन्तरिक तथा प्राकृतिक अभिलाषा कथाहरूमा प्रकट भएका छन् । प्रायः कथाहरू भावपूर्ण र वास्तविकताको सन्निकट देखिन्छन् । कथाहरूमा संवादमा जनबोली मिसाइएको छ । स्थानीयताको गहिराइमा डुबेर कथाका प्लटहरूको खोजी भएको देखिन्छ ।

‘स्वच्छन्द साँझ’भित्रका प्रायः कथाहरू दुःखान्त देखिएका छन् । उनी मनलाई दुःखाउँछन्, अस्वस्थ समाज र यसले थोपरेका विभिन्न विसंगतिबोध गराउँछन् । समाज र यसले थोपरेका विभिन्न मनोदशा कथा र तिनका पात्रमार्फत सार्वजनिक गराउँछन् । कथामार्फत समाजका नारीमाथिका उत्पीडन, अपमान, तिरस्कार र घृणा उजागर गर्छन् । समसामयिक सन्दर्भहरूमाथि संवेदनशील भएर कथा लेख्न खप्पिस छन् रत्न प्रजापति । पढ्दा पट्यार नलाग्ने, हाम्रै परिवेश वरपरका मान्छेका जीवनका अनेकौँ पाटाहरूको खोतलखातल नै उनका कथाका प्लट बनेका देखिन्छन् ।
कथामा कलम असाध्यै बलशाली र बेगिलो भएर बगाइरहने सामथ्र्य छ कथाकारको । उनी निरन्तर बगिरहेछन् । रत्नका कथाहरू भावपूर्ण र वास्तविकताको सन्निकट देखिन्छन् । मूलतः मूर्त वा अमूर्त दुवै तरिकाले यौनको सन्निकट कथाहरू घुमिरहन्छन् । उनको सूक्ष्म दृष्टिचेत गहिराइसम्म पुगेर लेख्न सक्ने खुबीको प्रशंसा गर्नैपर्छ । भाषाको प्रयोगमा खासै खोट लाउनुपर्ने स्थान देखिएको छैन । शैलीशिल्पमा निखारता नै भेटिएको छ । कथाहरूमा एकाधलाई छोडेर अनावश्यक गन्थन विरलै छ । यो संग्रह साझा प्रकाशनबाट प्रकाशित भएको हो । विषयगत विविधता, कुतूहलता, आफ्नै पृथक शैलीका कथाकार रत्न प्रजापतिको कलम अविराम चलिरहोस् शुभकामना ।

प्रतिक्रिया