लोप हुँदै मधेसमा होलीको परम्परागत राग

होलीको अन्तिम दिन आउन अब एक हप्ता बाँकी रहँदा पनि पहिलेजस्तो होलीको मिठो राग सामान्य रूपमा सुन्न नपाउँदा बुढापाकालाई फागुन महिना नै खल्लो लाग्ने गरेको छ । संस्कृतिको संरक्षण तथा मौलिक संस्कृतिको प्रबद्र्धन गर्न चाहनेहरूका लागि होलीको परम्परागत राग आकर्षण हुनुपर्ने हो तर संरक्षण हुन नसक्दा लोप हुने खतरा बढेको हो । लोकजीवनलाई रसिलो बनाउने होलीको परम्परागत रागलाई पुनर्सिर्जन गरी संरक्षणमा समाजका अगुवाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

आरके श्रीवास्तव

मधेसमा एउटा भनाइ प्रचलित छ, ‘साग मिठ तोरीके आ राग मिठ होरीके’ अर्थात् तोरीको साग मिठो हुन्छ र होलीको राग मिठो हुन्छ । सम्पूर्ण सांस्कृतिक चाडपर्वका गीतमध्ये होलीको रागलाई परम्परादेखि नै मिठो मान्दै आएको भए पनि बिस्तारै लोप हुन थालेको छ । फाँटमा, गाउँमा तथा मन्दिरहरू र सांस्कृतिक गायन गर्ने समूहहरूमा पनि होलीको परम्परागत राग बिरलै सुनिन थालिएको छ । होलीको राग बिस्तारै कम हुँदै जाँदा संस्कृतिको अमूल्य धरोहर लोप हुने चिन्ता संस्कृतिकर्मीहरूमा रहेको छ ।

होलीको परम्परागत गीतमा धार्मिक, सामाजिक यथार्थवादी, चेतनामूलक, विरह वेदना, उमंग उत्साह, मनोरञ्जन तथा रतिरागात्मकतासमेत पाइन्छन् । मानिसले रुचि र परिस्थिति हेरेर होलीको राग गाउने चलन बिस्तारै हराउँदै गएकोमा आश्चर्य लागेको संस्कृतिकर्मी बृजकिशोर सहनी बताउँछन् । पहिले होलीको गीत गाउनका लागि मानिसहरू वसन्त पञ्चमीको प्रतीक्षा गर्ने गर्दथे । वसन्त पञ्चमीको दिन होलीको डम्फू बजेपछि गाउँगाउँमा साँझको समयमा सामूहिक होलीगायन मध्यरातसम्म चल्ने गर्दथ्यो । फागुन लागेपछि भने साँझमा गाउँ र दिउँसो गोठालाहरू, घाँस काट्न जानेहरू, खेततिर डुल्न जानेहरूले एक्लै दुक्लै गाउने होलीको गीतले गुञ्जायमान रहन्थ्यो तर आजभोलि खोलाको किनार तथा बगैँचामा पनि होलीको परम्परागत राग सुन्न छाडिएको बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष साहित्यकार किशुनदयाल श्रीकृष्णको भनाइ छ ।

आधुनिक बाजाहरूको विकास, एफएम रेडियोमा सुन्ने तथा डिजेहरूले गर्दा आफूले गाएर होलीको मनोरञ्जन लिने प्रवृत्तिमा कमी आएको बुढ्यौली साहित्य समाज मधेस प्रदेशकी उपाध्यक्ष साहित्यकार रेणु गुप्ताको दाबी छ । आफ्नोभन्दा अरूको राम्रो मान्ने सामाजिक प्रवृत्तिले पनि होलीको परम्परागत राग र बाजा सबै लोप हुन लागेको उपाध्यक्ष गुप्ताको भनाइ छ । पहिलेजस्तो गाउँ तथा बजारमा होलीको गीत बिस्तारै सुनिन छाडेको गुप्ताको भनाइ छ ।

पहिले होलीको परम्परागत मौलिक गीत गाउनेलाई गाउँमै सम्मान हुन्थ्यो तर आजभोलि परम्परागत गायकको खोजी गर्ने तथा सम्मान गर्ने परम्परा समाजबाट बिस्तारै हटेको छ । सामाजिक सञ्जालमा रमाउने नवयुवाहरूको परम्परागत गीतप्रति अरुचि देखिनु तथा परम्परागत गीतरागप्रति आकर्षित हुन नसक्नु वर्तमान परिवेशको दोष भएको जानकारहरू बताउँछन् । तीन तहको सरकार रहे पनि परम्परागत लोकसंस्कृतिको संरक्षणमा कुनैको चासो नहुनुले पनि परम्परागत होलीको गीत बिस्तारै लोप हुन थालेको हो ।

मधेसको दोस्रो ठुलो पर्वको रूपमा होलीलाई लिइन्छ । स्थानीय मौलिकतासहितका परम्परागत गीतहरू लामो समयदेखि गाइँदै आएको थियो तर वर्तमान युगले होलीको परम्परागत मौलिकतालाई हस्तक्षेप गरेर नकारात्मकता भरेको धेरैको भनाइ छ । होलीको गीतको नाममा अश्लीलता ल्याएर होलीमाथि नकारात्मक थपेको कारण पनि होलीको गीत बिस्तारै लोप हुन थालेको हो । होलीको गीत गाउनेलाई अश्लील गीत गाएको भन्न थालेपछि मौलिकतामाथि प्रश्न उब्जेको साहित्यकारहरूको भनाइ छ ।

स्थानीय सरकारहरूले पुराना मौलिक रागमा आधुनिक युग, चेतना तथा समाजको वर्णन गराउन ढिलो भइसकेको जानकारहरूको भनाइ छ । स्थानीय सरकारमा उपभोक्ता समितिमार्फत सडक ढलान र भवन निर्माणमा लगानी गर्ने प्रवृत्ति रहेकोले मौलिक संस्कृति संरक्षण गर्न अनिवार्य व्यवस्था गरिनुपर्ने आवश्यकता रहेको छ । बजेटमा जो बलियो उसैको हालिमुहाली भइरहेको हुँदा संस्कृति संरक्षणतिर ध्यान जान नसकेको र देखावटी कुरामा मात्र सीमित हुन पुगेको देखिएको छ ।

अहिले पनि हरेक गाउँमा दुई–चार जना होलीको परम्परागत गीत गाउने मानिसहरू नभएको होइन । गाँवैपिच्छे होलीगीतमा बजाइने परम्परागत लोकबाजा बजाउनेहरू पनि छन् तर गाउँमा होलीको राग साजबाजसहित समूहमा राम्रो हुने भएकोले गाउने र बजाउनेहरू कम हुँदै गएका हुन् । हरेक गाउँमा राजनीतिको प्रभाव परेको कारणले पनि होलीको परम्परागत राग कम सुनिन थालेको हो ।

अझै पनि आफ्नो गाउँको राम जानकी मठमा कहिलेकाहीँ होलीको परम्परागत बाजासहित गीत हुने गरेको साहित्यकार श्रीकृष्ण बताउँछन् । रौतहट र सर्लाहीको हरेक गाउँमा रहेको राम जानकी मठमध्ये अहिले पनि केहीमा फागुन लागेपछि होलीको परम्परागत गीत गाइने गरिएको छ । तिथिले फागुन लागेपछि केही दिन रामजानकी मठमा होलीको दिन बाजासहित गाइनुपर्ने परम्परागत संस्कृति रहेको छ । फागुन महिनामा देवीदेउतालाई पनि होलीको गीत सुनाउनुपर्ने संस्कृतिले अझै पनि केही परम्परागत गीत लोप हुनबाट जोगिएको र खोजीनिधि गर्ने हो भने संरक्षणको धेरे आधार भेट्न सकिने देखिएको छ ।

होलीको अन्तिम दिन आउन अब एक हप्ता बाँकी रहँदा पनि पहिलेजस्तो होलीको मिठो राग सामान्य रूपमा सुन्न नपाउँदा बुढापाकालाई फागुन महिना नै खल्लो लाग्ने गरेको छ । संस्कृतिको संरक्षण तथा मौलिक संस्कृतिको प्रबद्र्धन गर्न चाहनेहरूका लागि होलीको परम्परागत राग आकर्षण हुनुपर्ने हो तर संरक्षण हुन नसक्दा लोप हुने खतरा बढेको हो । लोकजीवनलाई रसिलो बनाउने होलीको परम्परागत रागलाई पुनर्सिर्जन गरी संरक्षणमा समाजका अगुवाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

खाने र पिउने तथा नयाँ कपडामा रंग र अबिर दलेर रमाइलो गर्ने पर्वको रूपमा एक–दुई दिनका लागि होली पर्व सीमित बन्दै गएको छ । एक–दुई दिनमा सीमित हुने होलीभन्दा परम्परागत संस्कृतिको लोकरागमा गाइने फगुवा वसन्त पञ्चमीदेखि चैतको पहिलो दिनसम्म हुने गर्दथ्यो । सबैभन्दा लामो समयसम्म चल्ने फगुवाको मुख्य चिनारी नै परम्परागत राग हुने गरेकोमा अब पुनः संरक्षणको अभियान सञचालन हुुनुपर्ने देखिन्छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया