रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय लुटेरा पक्राउ

मधेस ब्यूरो । रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । जिल्लाको परोहा नगरपालिका– ९ स्थित शिवम् मनि ट्रान्सफरका सञ्चालक नितेशकुमार साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् ।

उनका अनुसार शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय साहमाथि गोली प्रहार भएको हो । गोली प्रहार गर्ने तीन जना भारतीय लुटेरालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न भारत मोतिहारी बिहारका मनिस यादव, राजकुमार पासवान र चन्द्रभान सिंह रहेको प्रहरी प्रवक्ता गिरीले जानकारी दिइन् । प्रवक्ता एलिजा गिरीले दिएको जानकारी अनुसार सञ्चालक साहको कन्चटमा गोली लागेको छ भने उनको अवस्था गम्भीर छ ।

भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकल चढेर तीन जनाको समूहमा आएका भारतीय लुटेरा समूहले सञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका साहको गौर अस्पतालमा सामान्य उपचार पश्चात् वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

गोली प्रहारसँगै करिब ५२ लाख रुपैयाँ लुटपाट भएको अनुमान गरिएको छ । यस घटनाबारे रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद किरण साहले शुक्रबारको संसद बैठकमा कुरा उठाएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया