रौतहटको फतुवा विजयपुरको शिक्षामा चरम बेथिति

तलबको माग गर्दै परीक्षा बहिष्कार गरी धर्नामा शिक्षक

रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको शिक्षा क्षेत्रमा चरम बेथिति देखिएको छ । गत साउनदेखि नगरपालिकाले अहिलेसम्म शिक्षकको तलब उपलब्ध नगराएको भन्दै केही विद्यालयका शिक्षकहरूले विद्यार्थीको परीक्षा नै बहिष्कार गरेका छन् ।

नगरपालिकाका चार ओटा माध्यमिक विद्यालयसहित केही आधारभूत विद्यालयलका शिक्षकहरूले गत आठ महिनाको तलब नदिएको भन्दै विद्यार्थीको परीक्षा नै रोकेका छन् । विगतमा पनि तलबको माग गर्दै आन्दोलन गरेको र नगरपालिकाले गरेको सहमतिअनुसार तलब उपलब्ध नगराउँदा नगरपालिकाले लिने परीक्षामा चार माविसहित अन्य आधारभूत विद्यालयका शिक्षकले परीक्षा बहिष्कार गरी धरनामा बसेको पूर्व शिक्षा संयोजक बुनिलाल यादवले बताएका छन् ।

नगरपालिकालाई शिक्षकको तलब उपलब्ध गराउन बारम्बार ताकेता गरेको, लिखित र मौखिक आग्रह गरेको तथा आन्दोलन गर्दा सहमति गरेको भए पनि नगरपालिकाले शिक्षहरूको मागलाई बेवास्ता गरी आन्दोलनको वातावरण तयार पारेको यादवको दाबी छ ।

नगरपालिकामा रहेको २५ विद्यालय मावि विजयपुर, शीतलपुर, हिमाली, बैरगनिया तथा अन्य तीन आधारभूत विद्यालय गरी सात विद्यालयका हजारौँ विद्यार्थीको परीक्षा अन्यौलमा परेको छ ।

नगर शिक्षा संयोजक तेजनारायण यादवले शिक्षकहरूले १० महिनादेखि तलब नपाएकोले माग जायज भएको स्वीकार गर्दै विद्यार्थीको भविष्यसित खेलबाड भएको बताएका छन् । अधिकांश विद्यालयमा परीक्षा सञ्चालन भएको तर केही विद्यालयमा परीक्षा सञ्चालन नहुँदा आफूलाई दुःख लागेको बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष अनिलकुमार निधिले राज्यले उपलब्ध गराउने तलब पाउनको लागि आन्दोलन गर्नुपर्ने अवस्था आउनु राज्यको लागि दुर्भाग्यको विषय भएको बताएका छन् ।

नगर शिक्षा संयोजक यादवले चैत ४ गतेसम्म शिक्षकको तलब विद्यालयमा जाने विश्वास आफूले प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधानबाट पाएको र सोहीअनुसार शिक्षकहरूलाई परीक्षा लिइदिन आग्रह गरेको बताएका छन् । संयोजक यादवले शुक्रबारदेखि नगरका सबै विद्यालयमा परीक्षा सञ्चालन हुने विश्वास पनि लिएका छन् ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रधान रहेको बेला विगतमा पनि शिक्षकहरूले तलब पाउन आन्दोलन गर्नुपरेको थियो । जनप्रतिनिधिबीच बजेटको बाँडफाँट मिल्न नसक्दा फतुवा विजयपुरको शिक्षा क्षेत्रमा व्यापक नकारात्मक प्रभाव परेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया