आतंक मच्याउँदै हिँडेको बाघ नियन्त्रणमा

पर्सा । पर्साको ग्रामीण भेगमा एक महिनादेखि आतंक मच्चाउँदै आएको मध्येको एउटा बाघलाई नियन्त्रणमा लिइएको छ । तीन वटा हात्तीसहित विगत १० दिनदेखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले पाटेबाघलाई डाट हानेर बेहोस पारी नियन्त्रणमा लिएको हो ।
दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साको संयुक्त टोलीले सखुवा प्रसौनी गाँउपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई लठ्याएर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए ।

एउटा भाले र एउटा पोथी बाघले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका विभिन्न गाउँमा आतंक मच्चाउँदै आएका थिए । बाघको आक्रमणबाट एक जनाको मृत्युु भएको थियो भने एक जना घाइते भएका थिए । राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनौँ चौपायासमेत मारेको थियो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्तप्रसाद साहका अनुसार, उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका पाँच जना गरी १५ जनाको टोली तीन वटा हात्तीका साथ विगत १० दिनदेखि खटिएका थिए । बाघ लुकेर बसेको सम्भावित स्थानहरूमा उक्त टोलीले सिसिटिभी क्यामेरा पनि जडान गरेको थियो ।

दुवै बाघ उखु र मकैबारीमा लुक्दै ठाउँ सर्दै हिँडेका कारण १० दिनसम्म निकुञ्जको टोलीले फेला नै पार्न सकेको थिएन । तर बुधबार राती सिसिटिभी क्यामेरामा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसौनी–२ को उखुबारीमा दुई मध्ये एउटा बाघ लुकेर बसेको अवस्थामा फेला परेपछि डाट हानेर बेहोस पारी नियन्त्रणमा लिएको यादवले बताए । अर्को पोथी बाघ भने अझै फेला पर्न सकेको छैन ।

प्रतिक्रिया