फागुन महिनामा मात्रै पाथीभरा मन्दिरबाट ५५ लाख भेटी संकलन

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट रु. ५५ लाख भेटी संकलन गरेको छ । फागुन महिनामा पाथीभराबाट संकलन भएको रु. ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रूपमा जानकारी गराएको हो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्यांकसमेत समितिले सार्वजनिक गरेको छ । केही दिनयतादेखि मौसम न्यानो भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ ।

यसैबीच पाथीभरामा संकलन भएको सुनचाँदी लिलाम बिक्री प्रक्रियामा रहेको समितिले जनाएको छ । रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन र पाँच हजार २९८ तोला १२ लाल चाँदी बिक्रीको प्रक्रियामा रहेको बताइएको छ । गत फागुन २० गते लिलाम बिक्रीको सूचना निकालिएको र बिक्री प्रक्रियामा नै रहेको समितिले जनाएको छ । रासस

प्रतिक्रिया