१४औँ राष्ट्रपति रनिङ शील्डको उपाधि फिदिम माविलाई

पाँचथर । जिल्लामा भएको जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि फिदिम माविले जितेको छ । फिदिम माविको खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा फिदिम माविले २६ स्वर्ण, १९ रजत र ८ कास्यसहित कुल ५३ पदकसहित उपाधि हात पारेको हो ।

लगातार तीन पटक उपाधि हात पारेसँगै फिदिम माविले रनिङ शील्ड कब्जा गरेको छ । उक्त प्रतियोगितामा याङवरक गाउँपालिकाले २० स्वर्ण, १६ रजत र ११ कास्यसहित जम्मा ४७ पदक हात पार्दै दोस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थान प्राप्त गरेको फालेलुङ गाउँपालिकाले ७ स्वर्ण, ३ रजत र ४ कास्यसहित कुल १४ पदक हात पारेको छ ।

यसैगरी मिक्लाजुङ गाउँपालिकाले ६ स्वर्ण, १० कास्य र ११ रजतसहित कुल २७ पदक हात पार्दै चौथौ स्थान ओगटेको छ भने ३ स्वर्ण, ४ रजत र ९ कास्य हात पारेको फाल्गुनन्द गाउँपालिका पाँचौं स्थानमा रहेको छ । छैटौँ स्थान हासिल गरको हिलिहाङ गाउँपालिकाले २ स्वर्ण, १० रजत र ६ कास्यसहित १८ पदक हात पारेको छ भने कुम्मायक गाउँपालिकाले २ स्वर्ण, ३ रजतसहित ५ पदक हात पारेको छ ।

कुनै पनि विधामा स्वर्ण पदक हात पार्न नसकेको तुम्बेवा गाउँपालिकाले १ रजत र २ कास्य पदक गरी कुल ३ पदक मात्र प्राप्त गर्दै अन्तिममा रह्यो । सोमबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहबाट छनोट भएका ६ सय ११ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा सबैभन्दा धेरै फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबाट समान ११० जना र सबैभन्दा कम फालेलुङ गाउँपालिकाबाट ३६ जना विद्यार्थीहरु सहभागी भएका थिए । फाल्गुनन्द र कुम्मायक गाउँपालिकाबाट समान ८०, मिक्लाजुङ गाउँपालिकाबाट ८८, तुम्बेवा गाउँपालिकाबाट ४९ र हिलिहाङ गाउँपालिकाबाट ५८ जना विद्यार्थी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए ।

प्रतियोगिताको उद्घाटन सत्रमा विदार्थीहरुले मार्च पास गरेका थिए भने कलाकारहरुले विभिन्न सांस्कृतिक झाँकी र नृत्य समेत प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख यामबहादुर आङबोको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा स्थानीय तहका पदाधिकारी, जिल्लास्थित राजनीतिक दलका नेता, कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया