पर्सा । नेपालको मुलुकी अपराध संहिता २०७४ मा दाइजो वा तीलक कुनै पनि बस्तु लिन वा दिन वर्जित गरिएको छ । यति हुँदाहुँदै पनि बिहेमा असल बुहारी मात्रै होइन, घर भर्ने दाइजोको माग गर्ने संस्कार अझै हटेको छैन । तराईमा बिहेका दुलहीसँगै मनग्य दाइजो भित्र्याउन खोज्नेले मण्डपमै खुल्लमखुला विलासी सामान माग्छन् र नपाउँदा बिहे नै रद्द गर्नेसम्मको अवस्थामा पुग्छन् भन्ने घटनाको पछिल्लो प्रमाण हो पर्साको घटना ।
बेहुली पक्षले जन्तीको स्वागत राम्रोसँग नगरेको, खानामा माछा नखुआएको नाममा कुटाकुट भएको घटना सेलाउन नपाउँदै दाइजोमा सिक्री नदिएको भन्दै विवाह नै रद्द गरिएको घटनाले मधेससँगै सबैतिर तरंग पैदा गरेको छ । पर्सामा भएको पछिल्लो घटनाले अहिलेको जमानामा पनि यस्तो हुन्छ भनेर विश्वास गर्नै गाह्रो छ । तर, भयो त्यस्तै । दाइजो प्रथा अन्त्य हुँदै छ भन्ने बहस घटनाले चुनौती थपेको छ । तराईमा समयसँगै दाइजोको स्वरूप र माग फेरिँदै गएको छ । विवाह यति महगिँदै गएको छ कि छोरी अन्माउन बाबुआमाका लागि ठूलो चुनौती बनेको छ ।
दाइजोमा सुनको सिक्री नपाएको भन्दै एक कर्मचारी बेहुलाले विवाह रद्द गरेका छन् । फागुन २८ गते पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी छोरी रमिता कुमारीसँग विवाह गर्न बाराको कलैया उपमहानगरपालिका–४ का बच्चलाल साहका छोरा उमेश साह जन्तीसहित आएका थिए ।
आर्थिक अभाव राम्रो नभए पनि सुखलले जसोतसो छोरीको घर राम्रो होस् भनेर दाइजोमा १२ लाख नगद र मोटरसाइकल बापत ३ लाख २५ हजार दिए । उनले त्यसमा अन्य सामग्री पनि ज्वाइँको परिवारलाई टक्राए । दाइजोमा पाएको सामानमा सुनको सिक्री नभएको भन्दै उमेशले बिहे मण्डपबाट उठ्दै बिहे रद्द गरेका थिए ।
सिक्री नपाएर बिहे रद्द गरेका बेहुला अहिले पर्साको प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए । बेहुला हाल वीरगञ्ज महानगरपालिकामा स्वास्थ शाखाका करार कर्मचारी रहेको बुझिएको छ ।
त्यस्तै पर्साको विन्ध्यवासिनी गाउँपालिका–४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरले खानामा माछा नखुवाएको भन्दै भनाभन भएपछि कुटाकुट नै भएको थियो । कुटाकुटमा परी बेहुलाका बुबा घाइते भएका थिए । त्यसपछि बिहे नै भाँडिएको थियो ।
गत सोमबारदेखि नै दुवै गाउँका अगुवा समाजसेवीले बिहे हुनुपर्ने अडान राख्दै निरन्तर छलफल गरिरहेका छन् । छलफलमा अगुवाहरूले फेरि बिहे गराउने निष्कर्षका साथ बेहुला र बेहुलीका परिवारलगायत आफन्त रद्द गरिएको बिहे राजीखुसीका साथ फागुन २८ गते सोमबार नै गर्ने सहमतिमा पुगेसँगै गए राती अबेर बिहे सम्पन्न भएको बताइएको छ ।
मुलुकी अपराध संहिता २०७४ मा ‘आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन’ नहुने जनाइएको छ । कसैले त्यसो गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया