दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह रद्द गर्ने बेहुला पक्राउ

वीरगञ्ज । दाइजोमा सुनको सिक्री नपाएको भन्दै एक बेहुलाले विवाह नै रद्द गरेपछि पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका– २४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीसंग विवाहका लागि बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमा चोक निवासी बच्चलाल साहका २६ वर्षीय छोरा उमेश साह फागुन २८ गते जन्ती सहित आएका थिए ।

आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख,मोटरसाइकल बापत ३ लाख २५ हजार नगद र अन्य सामान दिए पनि विवाह गर्न आएका बेहुला उमेशले सुनको सिक्री नपाउँदा विवाह मण्डपबाट उठेर विवाह रद्द गरेका थिए ।

विवाह रद्द गरेका बेहुलालाई पक्राउ गरेर अहिले पर्सा प्रहरीको नियन्त्रणमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए । बेहुला हाल वीरगञ्ज महानगरपालिकाका स्वास्थ शाखाका करार कर्मचारी रहेको बुझिएको छ ।

कानूनमा के छ ?

मुलुकी अपराध संहिता २०७४ मा ‘आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चलअचल, दाइजो वा कुनै सम्पती माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन नहुने’ उल्लेख छ ।

कसैले त्यसो गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया