१४औँ सप्तरी राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा खडक नगरपालिका प्रथम

राजविराज । खेलकुद विकास समिति सप्तरीद्वारा सञ्चालित जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको सोमबार सम्पन्न खेलमा खडक नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ । खडक नगरपालिका– १० अवस्थित श्री महेन्द्र माध्यमिक विद्यालय इनर्वा फुलवडिया खेल मैदानमा सञ्चालित प्रतियोगितामा सात स्थानीय तहलाई उछिन्दै खडक नगरपालिकाले पहिलो स्थान हासिल गरेको हो ।

प्रतियोगितामा खडक नगरपालिकाले १० स्वर्ण पदक प्राप्त गरी प्रथम भएका छन् भने बोदे बर्साइन नगरपालिकाले ९ स्वर्ण पदक प्राप्त गरी द्वितीय र सुरुङ्गा नगरपालिकाले ७ स्वर्ण पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन् । यसैगरी शम्भुनाथ नगरपालिकाले ३ स्वर्ण, सप्तकोशी नगरपालिका १ स्वर्ण पदक प्राप्त गरेका छन् भने हनुमान नगर कंकालिनी नगरपालिका र राजगढ गाँउपालिकाले स्वर्ण पदक प्राप्त गर्न नसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट पालिकाका छात्र–छत्रालाई एक समारोहबीच पुरस्कार वितरण गरिएको छ । खेलकूद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलको अध्यक्षता तथा खडक नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने पालिकालाई शील्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रथम, द्वितीय र तृतीय एवम् सान्त्वना स्थान प्राप्त गर्ने पालिका तथा सहभागी सम्पूर्ण छात्रछात्रा, प्रशिक्षक, खेलकुद विकास समिति तथा शिक्षा शाखालाई प्रमुख अतिथि मेयर चौधरीलगायतका अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया