कक्षाकोठामा लागेको ताला डेढ वर्षपछि खुल्यो

बैतडी । नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो ।

सो गाउँपालिकाको वडा–१ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपैयाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले ताला लगाएका थिए ।

विद्यालयमा लगाइएको ताला प्रहरीको सहयोगमा शनिबार खोलिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ताला खोलेर विद्यालय व्यवस्थापन समिति भंग गर्दै प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए ।

विद्यालयको पुरानो भवन पहिरोमा पुरिएपछि आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न सम्झौता गरिएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भए पनि व्यवस्थापन समितिले भवनको जिम्मा स्थानीय युवा केशवसिंह घटाललाई दिएको हो ।

कोरोनाका कारण निर्माण सामग्री महँगो भएकाले ३६ लाख रुपैयाँको चारकोठे भवनको लागत ५८ लाख रुपैयाँ पुर्याएर भुक्तानी दिँदा पनि निर्माण समितिका अध्यक्ष घटालले भुक्तानी नलगेको गाउँपालिकाका इन्जिनियर घनश्याम मौनीले बताए ।

भवन निर्माणमा संलग्न निर्माणकर्ता घटालले ७९ लाख रुपैयाँ दाबी गर्दै आएको जानकारी उनले दिए । इन्जिनियर मौनीले भने, ‘भवन धेरै राम्रो बनेको छ तर ७९ लाख रुपैयाँ कसरी भुक्तानी दिने ? प्राविधिक दृष्टिकोणले ५८ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन मिल्दैन ।’

भवन निर्माणमा संलग्न घटालले कोरोनाका बेला छड, सिमेन्ट र तेलको मूल्य आकासिएकाले भवन निर्माण गर्दा ७९ लाख रुपैयाँ खर्च भएको दाबी गरे । उनले २० प्रतिशत जनश्रमदान गर्नुपर्ने योजनामा उल्लेख भए पनि ज्यालादारीमा काम गराउँदा लागत बढेको बताए ।

उनले ब्याजमा ऋण निकालेर विद्यालयको भवन बनाए पनि प्राविधिक मूल्यांकन नभएको बताए । डेढ वर्षसम्म भवनमा ताला लगाउँदा विद्यार्थी घाम र झरीमा खुला चौरमा पढ्न बाध्य थिए ।

भवनमा लागेको ताला खोल्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी पञ्चेश्वर–१, शेरी पुगेका थिए । ताला खोल्न लगाउँदै गाउँपालिका अध्यक्ष चन्दले भने, ‘यहाँका जनताले स्थानीय सरकार नभएको अनुभूति गरे । कसैलाई भ्रम नहोस् पञ्चेश्वरमा स्थानीय सरकार छ । जुनसुकै बहानामा पनि विद्यालयलाई बन्धक बनाउन मिल्दैन । आज ताला खोलिएको छ । फेरि ताला लगाउने काम भयो भने कानुनी कारबाही अघि बढाउँछौँ ।’

प्रतिक्रिया