पालिकाको गौरवको आयोजना अलपत्र पर्ने चिन्ता

निर्माण कम्पनीले भुक्तानी नपाउँदा सडक कालोपत्रेको काम रोकियो

आठबिसकोट । आठबिसकोट नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको राडी बजार–पसाने, क्याम्पस रोड बजेट अभावका कारण सडक कालोपत्रेको काममा समस्या आएको छ । काम गरेको रकम भुक्तानी नभएपछि सडक कालोपत्रे (पिच) निर्माणको काममा समस्या आएको हो । नगरपालिकास्थित राडीबजारदेखि भेरी करिडोर भेरी नदीको पुल जोड्ने चार किलोमिटर दुरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ । निर्माण कम्पनीका अनुसार अहिले सडक कालोपत्रे कार्यका लागि बजेट नभएकाले काममा समस्या आएको हो । पिचको अन्तिम चरणमा रहेको उक्त सडकमा अहिले काम ठप्प भएको छ ।

लामो समयसम्म भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम रोक्न बाध्य भएको हो । बजेट अभावमा निर्माणाधीन सडक र बसपार्कको काम गरेका ठेकेदारले भुक्तानी पाउन सकेका छैनन् । सडक कार्यालयबाट भुक्तानी हुन नसकेपछि महिनौँदेखि मजदुर र सप्लायर्सलाई दिनुपर्ने लाखौँ रुपैयाँ रोकिएको निर्माण व्यवसायीहरूको भनाइ छ । आठबिसकोट–९ राडी बजारस्थित बजार क्षेत्र, क्याम्पस रोड र पसाने सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको गोर्खा मंगलदीप जेभीले ६ महिनादेखि भुक्तानी नपाउँदा समस्यामा परेको हो ।

निर्माण कम्पनीले ९० प्रतिशत काम सम्पन्न गरिसकेको तर सो काम अनुसारको भुक्तानी नपाएका कारण ६ महिनादेखि कार्यरत कर्मचारी र मजदुरलाई पारिश्रमिकसमेत दिन नसकेपछि पिचको अन्तिम चरणमा रहेको सडक निर्माण रोकिएको छ । मंगलदीपको उक्त साइडमा १५ जना कर्मचारी र ५० जना कामदारले पैसा नपाएको कम्पनीले जनाएको छ । सरकारले ६ महिनादेखि भुक्तानी नदिएपछि कार्यरत कर्मचारी, कामदारलाई पारिश्रमिक नदिँदा उनीहरू काम छोड्न बाध्य भएका छन् ।

२०८० वैशाखमा सम्झौता भएको उक्त सडक खण्डमा १२ करोड बराबरको काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । ६ महिनादेखि मजदुर र कर्मचारीलाई पारिश्रमिक दिन नसकिएको कम्पनीका निर्देशक राज शाहीले बताए । ‘मजदुरले तलब नपाएको ६ महिना भयो । काम अन्तिम चरणमा पुगिसक्यो । सरकाले भुक्तानीमा झुलाइरहेको छ । कार्यप्रगतिको आधारमा भुक्तानी दिनुपर्ने हामीले ८० प्रतिशत कार्य सकाएका छौँ’, शाही भन्छन्, ‘अब काम अगाडि बढ्ने अवस्था छैन ।

पैसा भुक्तानीका लागि पाँच महिनादेखि डिभिजन सडक कार्यालय धाइरहेको कम्पनीका निर्देशक राज शाहीले जानकारी दिए । डिभिजन सडक कार्यालयका कर्मचारीले भुक्तानीको समय सोध्दा उपल्लो निकायमा समस्याबारे जानकारी गराएको तर थप कुरा केही नभएको बताएको उनको भनाइ छ । ठेक्काको ९० प्रतिशत काम सम्पन्न गरेर बिल पेस गरेका निर्माण व्यवसायीले भुक्तानी नपाउँदा समस्यामा परेको बताएका छन् । रकम भुक्तानी अभावका कारण काम अघि बढ्न नसक्ने कम्पनीका साइड इन्चार्ज सूर्य शाहीले बताए । ‘चार किलोमिटर कालोपत्रे गर्नुपर्नेमा सबै तयारी पूरा भइसकेको छ ग्राबेल राखिसकेको छ । केहिदिनमै कालोपत्रेको काम सुरु होला भनेको रकम भुक्तानी नहुँदा अब साइड छोड्नुपर्ने दुःखद् अवस्था आयो’, इन्चार्ज शाही भन्छन, ‘रकम भुक्तानी नहुँदा घरभाडा र खाना खाएको समेत पैसा तिर्न नसक्ने अवस्था छ । कसरी सडक कालोपत्रे गर्न सकिन्छ । सरकारले काम गरे वापत समयमै भुक्तानी नदिँदा आफूहरूले घरभाडा र खाना खाएको रकमसमेत तिर्न सकेका छैनौँ ।’ कार्य प्रगतिका आधारमा आफूहरूले रकम भुक्तानीका लागि करिब पाँच करोड रुपैयाँ बराबरको बिल नियमक निकायसँग पेस गरेको उनले बताए ।

‘बिल प्राप्त भएकोले भुक्तानीका लागि रकम माग गरेका छौँ’, संघीय आयोजना कार्यन्वयन इकाइ सुर्खेतका प्रमुख रामकृष्ण आचार्यले भने, ‘हामीले मंगलदीपले पेस गरेको बिल संघमा पठाएका छौँ । चाँडै भुक्तानी हुन्छ । कम्पनीका अनुसार ९० प्रतिशत भौतिक प्रगतिको कार्य गरेको छ । भुक्तानी भने ३५ प्रतिशत हाराहारी मात्र पाएको उनले बताए । चार किलोमिटर दुरीको सडक कालोपत्रे गर्नुपर्ने उक्त सडकखण्डमा नाली र ढल, ग्राबेल र ढलानको काम सम्पन्न भइसकेको बताइएको छ ।

रकम भुक्तानी नपाएकै कारण करिब ६ महिनादेखि काममा खट्ने मजदुर लगायतका जनशक्तिलाई पारिश्रमिक दिन नसकिएको शाहीले जानकारी दिए । योजना कार्यालयबाट भुक्तानी नपाएपछि मजदुरलगायत कालोपत्रे निर्माणको काममा संलग्न जनशक्तिलाई पारिश्रमिक दिनसक्ने स्थिति नरहेको उनको भनाइ छ । रकम भुक्तानीका लागि कागजात पेस गरेको लामो समय भइसक्दा पनि रकम नपाएपछि निर्माणको काममा ठुलो समस्या आएको बताइन्छ । यसअघि पनि निर्माण कम्पनीले रकम भुक्तानी नगरे काम छोड्ने चेतावनी दिएको थियो ।

‘सुरुदेखि नै कामलाई तीव्रता दिँदै आएका छौँ, रकम अभाव नभएको अवस्थामा कालोपत्रे निर्माणको काम केही महिना भित्र सकिन्थ्यो’, निर्देशक शाही भन्छन्, ‘अब त बैंक ग्यारेन्टीसमेत जफत होलाजस्तो छ ।’ निर्माण सामग्री खरिद गर्दा व्यवसायीबाट ल्याएको सामानको समेत रकम नहुँदा भुक्तानी दिन नसकेपछि बैंकमा चेक क्लिन भएको जनाइएको छ ।

व्यवसायीलाई चेक दिएर ल्याएको सामानको समेत भुक्तानी हुननसक्दा निर्माण कम्पनीलाई थप समस्या परेको बताइन्छ । निर्माण सामग्रीको समयमै भुक्तानी दिननसक्दा सामग्री खरिद गरे वापत कम्पनीले पेस गरेको धरौटीसमेत जफत हुने अवस्था आएको निर्देशक शाहीले बताए । त्यति मात्रै नभएर बैंकले कम्पनीलाई कालो सूचीमा राख्न सक्ने अवस्था आएको उनले बताए ।

चार किलोमिटर सडक कालोपत्रेसँगै बसपार्क पनि निर्माण गरिरहेको छ । बसपार्कको करिब ९५ प्रतिशत काम सम्पन्न भएको उक्त कामको समेत भुक्तानी नहुँदा निर्माण कम्पनीलाई थप समस्या पैदा भएको जानकारी दिइएको छ ।

उक्त सडक कालोपत्रे गर्नका लागि २०८० वैशाख १४ गते भ्याटसहित कुल २० करोड ७९ लाख ४६ हजार रुपैयाँमा मंगलदीप कम्पनीले सम्झौता गरेको थियो । कम्पनीले अहिलेसम्म कामबापत ६ करोड रुपैयाँ मात्र प्राप्त भएको जनाएको छ । कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ भदौ १४ सम्म रहेको छ । निर्धारित मितिभन्दा धेरै छिटो काम सकेर योजना बुझाउने तयारीका साथ काममा खटिएको निर्माण कम्पनीले काम गरे बापतको रकम भुक्तानी पाउन संघर्ष गर्नुपर्दा दुःख लागेको बताएको छ । आठविसकोट नगरपालिकाको केन्द्रसमेत रहेको उक्त सडक खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । आठबिसकोटमा अहिलेसम्म एक किलोमिटर पनि सडक पिच भएको छैन ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया