रौतहट । बल र बुद्धिको खेलको रूपमा चिनिने कुस्ती खेलप्रति सर्वसाधारणको क्रेज अझै कायम छ । मधेसका विभिन्न जिल्लामा खेलाइने कुस्ती खेलमा दर्शकहरूको हुने बाक्लो उपस्थितिले यसलाई पुष्टि गर्दछ ।
रौतहटको मौलापुर नगरपालिका र गरुडा नगरपालिकाले हरेक वर्ष भव्यरूपमा कुस्ती प्रतियोगिता गराउँदै आएको छ । गरुडा नगरपालिकाले असोज महिनामा र मौलापुर नगरपालिकाले फागुन महिनामा गराएको कुस्ती प्रतियोगितामा हजारौँ दर्शकको सहभागिता हुने गरेको छ । रौतहटमा हुने कुस्ती प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै भारतका पनि दर्जनौँ खेलाडी आउने गरेका छन् ।
भारतकी प्रसिद्ध कुस्ती खेलाडी बबिता फोगाट हालै रौतहटको मौलापुरमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा सहभागी भएकी छन् । अन्तर्राष्ट्रिय स्तरको कुस्तीहरूमा स्वर्ण पदक विजेता भारतीय खेलाडी फोगाटको जीवनीमा आधारित प्रसिद्ध हिन्दी चलचित्र ‘दंगल’ समेत निर्माण भएको छ ।
विश्व प्रसिद्ध कुस्ती खेलाडीको उपस्थितिमा मौलापुरमा भएको कुस्ती प्रतियोगिताले मधेसको कुस्ती खेलको सम्मान बढाएको नगरप्रमुख रिनाकुमारी साहले बताइन् । मौलापुरमा भएको अन्तर्राष्ट्रिय स्तरको कुस्ती खेलमा नेपाल र भारतको गरी करिब एक लाख दर्शकको सहभागिता रहेको मानिएको छ ।
अनियमित रूपमा मधेस प्रदेशका अन्य जिल्ला तथा पालिकामा पनि कुस्ती प्रतियोगिता हुँदै आएको छ । कुस्ती खेल हुँदा दुई–चार हजार दर्शक सजिलै पुग्ने गरेकोले मेला तथा बजार लगाउन कुस्ती खेल अनिवार्यजस्तै रहेको रौतहटका पुराना कुस्ती खेलाडीहरूको भनाइ छ । कुस्ती खेलप्रति दर्शकको आकर्षण अत्यधिक रहेको महम्मदपुरका किशुनदयाल यादवको भनाइ छ ।
नेपालको कुस्ती खेलमा पनि मधेसकै खेलाडीको वर्चस्व रहने गरेको छ । गाउँघरबाट कुस्ती अभ्यास विस्तारै लोप हुँदै गएको भए पनि कुस्ती क्रेज सबै उमेर समूहमा उस्तै रहेको पाइएको छ ।
प्रतिक्रिया