बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रथम जीतपुरसिमरा क्रिकेट कप हुने भएको छ ।उपमहानगरपालिकाको सहयोग र अभियान नेपालको आयोजनामा ३ देखि १० चैतसम्म औराहाको सेज क्रिकेट ग्राउन्डमा प्रतियोगिता हुनेछ । आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा विजेताले ट्रफीसहित एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई जनही १० हजारका दरले नगद प्रदान गरिनेछ । विगत केही महिनादेखि जीतपुरसिमरा उपमहानगरपालिका क्रिकेटमय बनेको छ । जीतपुरसिमराबाट राष्ट्रिय स्तरमा खेलाडी उत्पादनको लागि अहिले जीतपुरसिमरा उपमहानगर क्रिकेट खेलमा लगानी गर्ने लागेको हो ।
प्रथम जीतपुरसिमरा उपमहानगरपालिका क्रिकेट कपमा ६ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगिताको संयोजक सोमलामा बम्जमले पत्रकार सम्मेलनमा जानकारी गराए । बारा जिल्लामै सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता जीतपुरसिमरामा गराउनका लागि उपमहानगरको सहयोगमा मात्र हुन लागेको बम्जमले बताए ।
प्रतियोगितामा जिल्ला क्रिकेट संघ मकवानपुर, जिल्ला क्रिकेट संघ पर्सा, जिल्ला क्रिकेट संघ बारा र आयोजक टिमसहित कुल ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको अनुमानित लागत करिब २४ लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि आयोजकले तयारी तीव्र पारेको संयोजक बोमजमले बताए । प्रथम जीतपुरसिमरा क्रिकेट कपमा उपमहानगरले १५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजना गर्न लागिएको बताएका छन् । ‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरूलाई जागृत गराउन जरुरी छ’, उनले भने ।
बारा
प्रतिक्रिया