गिद्ध रेस्टुरेन्ट चलाउनै धौधौ

लुम्बिनीले छुट्यायो पहिलो पटक बजेट

काठमाडौं । प्रकृतिको कुचीकार मानिने गिद्ध पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । फोहोरका कारण लाग्ने हैजा, झाडापखालालगायत रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ ।

गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार नेपालमा ९ प्रकारका गिद्ध पाइने भए पनि पछिल्लो समय हराउँदै जाने चिन्ता बढको छ । ‘हामीले संरक्षण अभियान चलाइरहेका छौँ,’ उनले भने, ‘त्यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।’

हाल गिद्ध संरक्षणका लागि नेपालभर ७ वटा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा छन् । यद्यपि ती रेस्टुरेन्ट सञ्चालन गर्न निकै चुनौती रहेको पक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीको भनाइ छ । हाल दाङमा दुइटा, घोचोक पोखरा, गैडाताल रुपन्देही, नवलपरासी पूर्व, कैलाली र कोसीटप्पुमा १÷१ वटा यस्ता रेस्टुरेन्ट छन् ।

रेस्टुरेन्ट सञ्चालन धेरै खर्चिलो हुने गरेकाले समस्या हुने गरेको अध्यक्ष रावत बताउँछन् । उनका अनुसार रेस्टुरेन्टमा बुढा भएका गाईबस्तुहरू राखिन्छ । ‘उनीहरूको रेखदेखका लागि खर्च ठुलो हुन्छ । उनीहरूलाई पराल खुवाउनुपर्ने र हेरचाह गर्न कर्मचारी राख्नुपर्ने हुन्छ । त्यहाँ पालिएका पशु मरेपछि मात्रै गिद्धको आहारा बन्ने गर्छन्,’ उनले भने । गिद्ध रेस्टुरेन्टमा पर्यटक आउने भए पनि त्यसलाई सरकारले संरक्षण गर्न सके निरन्तरता पाउने उनको भनाइ छ ।

हाल पशुमा दिइने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध हराउने अवस्थामा रहेको उनको भनाइ छ । साथै प्राकृतिक बासस्थान, आहारामा ह्रास र मानवनिर्मित विद्युतीय तारबारलगायत कारण गिद्धको संख्या घट्दो रहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश वन मन्त्रालयका अधिकृत धनीश्वर न्यौपानेले अग्ला रूखहरूलाई संरक्षण गर्ने, सुरक्षित आहाराको व्यवस्थापनको काम भइरहेको छ । सरोकारवाला, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणका आधारमा सबै गैरसरकारी संघसंस्थाहरूको सहकार्यको खाँचो रहेको उनले बताए।

गिद्ध संरक्षणका लागि सरकारी स्तरबाट पहिलो पटक लुम्बिनी प्रदेश सरकारले मात्रै बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले गिद्ध संरक्षणसँगै लोपोन्मुख प्रजातिका मौवा, सतीसाल, विजयसाललगायतका लागि ३ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि सरकारी स्तरबाट गिद्ध तथा लोपोन्मुख वनस्पति संरक्षणका लागि बजेट विनियोजन भएको थिएन ।

नेपालमा विभिन्न ९ प्रजातिका करिब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम संख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमालीबाहेक सबैजसो स्थानमा पाइन्छन् । नेपालमा डङ, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुँडे गरी ९ प्रजातिका गिद्ध पाइएको छ ।

नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करिब १० हजारको हाराहारीमा रहेको तथ्यांक छ भने खैरो, राज र लामोठुँडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्यान्डलगायत देशबाट जाडो छल्न नेपाल आउने गर्छन् ।

विश्वमै पहिलो पटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र संकटापन्न अवस्थामा रहेका गिद्धको संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ । प्रकृतिमा छाडिएका गिद्धको पखेँटामा नम्बरसहितको ट्याग लगाइएको छ भने स्याटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाडमा रेडियोकलर जडान गरिएको छ ।

विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुवै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।

प्रतिक्रिया