कोरोनालाई जितेको त्यो क्षण

संस्मरण

मेरो मनले आफ्नो ज्यानको वैतरणी पनि गरिसकेको थियो । सबै कुरा माया मारिसकेको थिएँ, तर खै ! कसोकसो म बाँचे । यसै भन्न आएछ । आँखा खोलेर हेर्दा वरिपरि आफ्ना–आफन्तहरू उज्यालो अनुहारमा गफिँदै बसेका रहेछन् । बिसेक हुँदै जान थाल्यो । मैले जीवन पाएँ । पुनर्जन्म पाएजस्तो पो भयो । मैले साँच्चै जितेँ कोरोनालाई । आत्मबल दरो बनाएकै कारण जितेँ । आत्मबल पनि रोगसँग लड्ने एउटा दरो भरोसा रहेछ ।

जेबी खत्री

हजुरआमाको सिरानमुनि एउटा डायरी थियो । लकडाउनको बेला त्यसै घरमा बसिरहँदा औडा झ्याउ लागेर आउने कहिले त । यसो एकछिन डायरी हेरौँ न हजुरआमा कस्तो रछ भन्यो । के हेर्छस् अर्काको डायरी भन्ने, के लेख्छिन् लेख्छिन् बुढीमान्छे हेर्न दिए पो । भनेको बेला हेर्नै नपाइने । सधैँ ल्याङल्याङ गरेपछि दिक्क लागेछ क्यार एक दिन त झिकेर फ्याँकिदिइन् मेरा आँखै अगाडि । के खोज्छस् कानो, आँखो भनेझैँ भयो, मलाई । हाँस्दै टिपेर ल्याएँ र पाना पल्टाउँदै हेर्न थालेँ । कथा यसरी सुरू हुन्छ ।

सबैले हेपेको मानिसलाई भगवान्ले पनि हेप्दा रहेछन् । मलाई यो कुरा थाहा थिएन । यति हुँदाहुँदै पनि मैले आफूलाई भगवान्ले हेपेजस्तो कमजोर कहिल्यै ठानिनँ । मलाई कहिलेकाहीँ नजिकका आफ्ना–आफन्तले पनि गिजोल्छन् । बहिनीले पनि बेलाबेला घच्घच्याउँदै भन्छे, दाजु पनि कस्तो मान्छे होला ! यसो भगवान्का फोटाहरू घरका भित्ताउँदो टाँस्नु । हेर्दैमा पनि फ्रेस भइन्छ । बिहान, बेलुका पूजाआजा गर्नु । केही गर्दैन । भगवान्प्रति पनि आस्था राख्नुपर्छ । कोठाको एउटा कुनामा सानो मन्दिर छ । कहिलेकाहीँ पूजा गर्ने पनि गर्थे घरका सदस्य । अहिले त त्यहाँ पनि माकुराले जालो लाइसकेको होला । धेरै भयो । कसैले पनि घण्टी बजाएको छैन । घण्टी नबजाए पनि जीवन त चल्दोरहेछ । चल्नुपर्दो रहेछ । चलैकै पनि छ । मैले भगवान्लाई दश औँला जोडेर धेरैपटक नमन गरेको छु । प्रार्थना पनि गरेको छु । यद्यपि आजसम्म कुनै असम्भव कुरा सम्भव भएको छैन । मकै रोपेको ठाउँमा धान उम्रेको सुनेको छैन । स्याउको बोटमा सुन्तला फलेको पनि देखेको छैन । कृष्ण भिरमाजस्तो मान्छेको मनमा पहिरो नजाओस् भनेर मैले भगवान्को पाउमा परेको कत्ति भयो ! यतिबेला कोरोनाको दोस्रो लहर चलिरहेको छ । मानिसहरू टाढाको के कुरा छर–छिमेकमै भकाभक मर्न थाले । पहिलो लहरभन्दा हाम्रालागि दोस्रो लहर डरलाग्दो बनेर आयो । सायद सबैले आआफ्ना भगवान्सँग प्रार्थना गरिरहेका होलान् । हे भगवान् ! कोरोना यताचाहिँ नआओस् । कस्तो अचम्मको मृत्युवरण गर्न बाध्य बन्नु पर्न थाल्यो । आज सास फेर्न गाह्रो भयो भनेर हस्पिटल भर्ना भएको मानिस भोलिपल्ट मरेको लास बनेर फर्कन थाल्यो । अब दोस्रो लहरबाट बच्न जो कोहीलाई गाह्रो हुने भयो । आफूले चिनेजानेका साथीसंगी नै कति गइसके ।
हजुरआमाको कोरोना डायरीबाट मैले भनेँ, ‘ए हजुरआमा, कोरोनाको त यो दोस्रो लहर अरे ! अब तेस्रो लहर पनि आउँछ भन्छन् नि त ।’ हजुरआमाले भनिन्, ‘आ नानी यो अरू केही होइन, अब पृथ्वीमा मान्छेको आयु पुग्दै आएको हो । भगवान्ले पनि आफ्नो सृष्टिको सिधै विनाश गर्न नसकेर घुमाइफिराइ विनाशतिर लागेका हुन् । अब यो धर्तीको पनि भोग पुग्दै आएको हो ।’

यो बुढीले के भनी भनौला, हेर्दै जाउ न अझै केके हुन्छ । जेठकै दिनमा यस्तो झरीबादल छ । असारसाउन कस्तो हुने हो । बाढीपहिरो बाँकी नै छ । यही कोरोनालाई पहिले श्वास–प्रश्वासबाट सर्छ भन्थे, अब अहिले हावाबाट पनि सर्छ भनेपछि संसार रहन्छ त अब ! रहँदैन नि । न यसको भरपर्दो कुनै दबाइमुलो नै छ । विधाताको खेल पनि विचित्रकै छैन त ! कहिले रोप । कहिले उखेल । मलाई त दिनानुदिन यो संसार अँध्यारो हुँदै गएजस्तो लाग्छ । कोरोनाको दोस्रो लहर आज २३ जेठ २०७८ लकडाउनको ३६औँ दिन । यही जीवनलाई सधैँ फूल देख्ने यी आँखाले बिस्तारै यही जीवनलाई काँडा देख्न थाले । जीवनले काँचुली फेर्ने आशमा भगवान्को पूजा गर्दागर्दै र भाग्यको बाटो हेर्दाहेर्दै हजुरबाउको जीवन बित्यो । बाउको पनि त्यसरी नै बित्यो । भगवान्का निम्ति थातथलो बन्यो । मन्दिरहरू बने । बरू भगवान्को मुहार फेरियो, हाम्रो भने फेरिएन ! पहिलाजस्तो थियौँ, उस्तै छौँ । हजूरबाउले एकदम गहिरोसँग अध्ययन होइन । भगवान्को पूजा गरे । आफूसँग नभएको चिज पाउँदा पनि भगवान्लाई नै सम्झिए । गुमाउँदा पनि भगवान्लाई नै सम्झिए । त्यति मात्र होइन । सायद हाम्रो जन्ममा पनि सम्झिए । आफ्नो मृत्युमा पनि सम्झिए । अझ भनौँ, दुःख, पीडा र अभावमा कति सम्झिए ! त्यसको त लेखाजोखा नै छैन । अमूर्त कुरालाई सम्झिएर के टाउको दुखाउनु ।

२०४५ सालको भूकम्पमा पनि बुवाले सक्दो राम नाम जप्नुभयो । खै केले जोगायो । घरको चुली भत्केर झरेको भए त्यतिबेलै हाम्रो परिवार सबैको एउटै चिहान हुन्थ्यो । धन्न भत्कियो मात्र झरेन । बुझेर बुझिनसक्नु मृत्युपछि पनि बुझ्न बाँकी रहेजस्तो, जीवन र जगत्लाई बुझ्दाबुझ्दै मृत्युवरण गर्नुपर्दो रहेछ । थाहा छ । दुई दिनका लागि आइएको हो । थाहा छैन, आउँदा के लिएर आइयो, जाँदा के लिएर गइन्छ ! आएको तिथिमिति थाहा छ । जाने तिथिमिति थाहा छैन । जीवनलाई सबै कुरा चाहिँदो रहेछ । आफूसँग भएको पनि, नभएको पनि । सम्झँदा जीवन प्राप्ति पनि रहेछ । पाउँदै पनि जाने । गुमाउँदै पनि जाने । जीवनको पूवाद्र्धमा प्राप्त गर्दै गए पनि उत्तराद्र्धमा गुमाउँदै गइँदो रहेछ । सायद त्यही भएर पनि होला । जाँदा खाली हात जानुपर्छ भनिएको । कसलाई थाहा छ र कहाँबाट आइयो र कहाँ गइन्छ ! भनिन्छ जसरी आइयो, त्यसरी जाने हो । जस्तो आइयो, त्यस्तै जाने हो । प्राप्ति भनेकै जीवन रहेछ र गुमाउँने भनेको पनि यही जीवन नै त रहेछ ।

अरू त के आज नभएको कुरा भोलि हुन पनि त सक्छ । आज भएको कुरा भोलि नहुन पनि त सक्छ । कोरोनाको सबैभन्दा ठूलो अभिघात जीवनको यति महत्वपूर्ण समय डेढ वर्ष त्यसै बिते । समय भनेको त्यस्तो महत्वपूर्ण चिज हो । कहिलेकाहीँ एक मिनेटले पनि जीवनमा सानो महत्व राख्दैन । कोरोनाको भुंग्रोमा नपिल्सिएको भए सायद नेपालमै केही हुन्थ्यो, होला । नभए पनि यतिबेला म युरोपको कुनै एउटा मुलुकमा हुन्थेँ । यसकै कारण संसारमा यति धेरै मान्छे मरे । आखिर मर्ने त मरेर गए, गए । बाँच्नेका लागि पनि यसले गरिखाने बाटाहरू कति त सधैँका लागि बन्द नै गरिदियो ।
१८ साउन २०७८ रातको १२ बजे मैलेँ घर छोडेर हिँड्ने विचार गरेँ । कस्तो अचम्मको कुरा हो । कहाँ जाने ? के गर्ने ? केही थाहा छैन । मैले यतिबेला सबै आफ्ना–आफन्त र शुभ–चिन्तकहरू कसैलाई पनि सम्झन सकिनँ । अरू धेरै केही थाहा छैन, मलाई यति थाहा छ । अब म मर्ने भएँ । मेरा दुई छोरा जेनिश र जुलियस सानै छन् । यिनको चाहिँ बिल्लिबाठ हुने भयो । सानो त झन् नौ महिनाको मात्र छ । ठूलो चार वर्षको । त्यसको पनि शरीरबाट आगोको जस्तो तातो राप आउन थाल्यो, ज्वरोको । अकस्मात उसलाई पनि हिजोदेखि यसरी ज्वरो खनियो । म घरको मूलढोकासम्म पुगेर फर्किएँ । त्यो पनि थाहा छैन । खै कसो हुनाले फर्किएँ ! मैले फर्कनुपर्छ । यसरी मध्यरातमा घरबाट निस्केर हिँड्नु हुँदैन, भन्ने कुराको ख्याल भएर फर्केको पनि होइन । खै केले फर्कायो, फर्कायो ! जे होस एकपटकलाई फर्किएँ ।

घरभित्र त म अँध्यारो मात्र देख्थेँ । सबैतिर अँध्यारोमै चाहारीसकेको थिएँ । पुग्न कतै बाँकी ठाउँ थिएन । कुना काप्चा आँखाले देख्ने, नदेख्ने ठाउँमा पनि छामछाम–छुमछुम गर्दै । एकछिनदेखि मलाई लाग्न थाल्यो, जिउँदै मेरो शरीरको मासु कसैले लुछिरहेको छ । मेरो छेउ कोही छैन । केही पनि छैन तर मेरो शरीरको मासु भने लुछ्न छोडेको छैन । शरीर पसिनाले निथु्रक्क भिजेको छ । मुटुको ढुकढुकी बढेको छ । हातखुट्टा कामेका छन् । सास फेर्न भएको कठिन शब्दमा जति व्यक्त गरे पनि कमै हुन्छ । त्यो कहाँ पाइन्छ ? म सजिलोसँग सास फेर्ने ठाउँ खोजिरहेको थिएँ ।


अँध्यारो ढोकामा ठोक्किएँ र कसो हुनाले फर्किएँ । त्यसैले म आज घरमा छु । नत्र आज म यसरी घरमा हुने थिइनँ । मलाई सास फेर्न नभएर यस्तो विधि खटपटी भएको थियो । बेलाबेला सास रोकिएजस्तो हुन्थ्यो । त्यतिबेला म उठेर हिँडिहाल्थेँ । सुत्न हुन्थेन । शरीरमा कतै पनि केहीले छुन नहुने यस्तो दुख्ने । दुख्दादुख्दै पोल्न थाल्ने । लाग्थ्यो, शरीरभरि घाउनै घाउ छन् । कोबाट सान्त्वना र अनुभव बटुल्नु । फोन गर्न उठाउनु पनि प¥यो, त्यो मध्य रातमा । को होला र त्यो बेलासम्म जागै बसेको । सबै सुतिराखेका होलान् । आफ्ना–आफन्त र शुभ–चिन्तकहरू कसैलाई थाहा हुन पाएन । कसैलाई थाहा नभई गइने भो यसपालि । बाँचिन्छ भन्ने त दश मनमा एक मनले पनि भनेन । म यस्तो बिरामी जीवनमा एकपटक पहाडको घरमा हुँदा भएको थिएँ । अर्कोपटक इजरायलको मागेनमा । आज म जीवनलाई तेस्रोपटक माया मार्दै छु । योपटक भने अगाडिको जस्तो माया मारेर फेरि उठेर हिँड्न पाउने छैन । यो माया मराइ साँचो अर्थमा सधैँका लागि हुनेछ । मैले जानेको यति हो । यो पटकचाहिँ म बाँच्दिनँ । म मर्न नडराउने मानिस हुँ । यद्यपि धेरै पीडा भएपछि भने मर्न पनि डर हुँदो रहेछ । सायद उमेर पाको हुँदै गएर पनि होला ।

यो पीडा यस्तो पीडा थियो जो मैले आजसम्म भोगेकै थिइनँ । जीवनका ५०औँ वसन्त पार गरियो । बीचमा कतिपटक बिरामी भइयो । यस्तो पीडा त अहँ थाहा छैन । कसोकसो गर्दा सोफामा आएर बेलाबेला झकाउँदो रहेछु । शरीरको छालाले कपडाउँदोसमेत छुन नहुने । पोलेर उपर्रतली हुने । बाँच्ने आश थिएन । के हुन्थ्यो । सायद पहिलोपटक कोरोना लागेको मानिसले गर्ने अनुभूति यस्तै हुन्छ । सबैले एकपटक यस्तो अनुभूति गरेको हुनुपर्छ । घरकै मान्छेले त थाहा पाएनन् । खटपटी भएर म यसरी यता र उता गरेको । कहिले किचन रुम । कहिले सिटिङ रुम ।

कतिखेर कसो हुनाले सोफामा बसेकै ठाउँमा निदाएछु । कसै गर्दा उज्यालो हुँदैन । बिहानीको बाटो हेर्दाहेर्दा बल्ल उज्यालो भयो । बाहिरतिर चराचुरुंगीको च्यार्रच्यार्र चुर्रचुर्र सुनियो । यसो झ्यालबाट बाहिरतिर हेरेँ । चारैतिर सुनसान थियो । मलाई त उज्यालो हुँदैन होलाजस्तो लागेको थियो तर भयो । खै केले अरायो । बिहान भएपछि मलाई मेरा नानीहरूको अनुहार हेर्न मन लागेछ । ठूलो छोराले मेरा आँखाभरि आँसु देखेर सोध्यो, बाबा के भयो ? मैले एकटकले तिनको अनुहार हेरिरहेँ । सानो त सानै थियो । रातभरि बन्दबवन्दी भएका मोबाइलका स्विच पनि बिहान भएपछि त एकपछि अर्को गर्दै खुल्न थाले । आफ्ना–आफन्त र शुभचिन्तकलाई खबर गरियो । झापाबाट बहिनीले भनी, ला यही हो, कोरोना । अब लागेछ तपाईंहरूलाई पनि कोरोना । हामी आमाछोरा सुतेको कत्ति दिन भयो । ज्वरो त कति हो कति ! अब आत्तिएर हुँदैन । तातोतातो खानेकुरा, गेडागुडी, गेडागुडीको झोल खाने । पानीको बाफ लिने । नजिकैको मेडिकलबाट औषधि ल्याउँने, खाने हस्पिटल जाने भनेको त अन्त्यमा मात्र हो ।

हाम्रा त यहाँ गाउँभरी सोत्राम छन् । ज्वरो, रुघामर्की । कोही निको हुँदै पनि छन् । कसैलाई भर्खर भेट्दै पनि छ । हस्पिटल गइहाल्न पनि कताको भेन्टिलेटरमा राख्छ भित्र कहाँ हो कहाँ न खानपिन मिल्छ न उठबस न हेरचाह राम्रो हुन्छ । भएनभएन भने त जानु पनि पर्छ नि । सकेसम्म घरमै बसेर उपचार गर्ने हो । आत्तिनुचाहिँ पटक्कै हुँदैन । आत्तियो भने त झन् गाह्रो हुन्छ । छन त यता पनि घरैपिच्छे एक–दुई जना बिरामी नभएका होइनन् । कोही उठेर हिँड्दै पनि छन् । कोही खाँदै हिँड्दै छन् । छरछिमेकमा छिछि र दुरदुर भइन्छ भनेर मात्र नभनेका हुन् ।

मलाई रातसँग यति डर लाग्ने । मलाई हरेक दिन रात नपरिदिए हुन्थ्योजस्तो लाग्थ्यो । आफूले भनेर नहुने । दिन ढल्कँदै जान्थ्यो । प्रकृतिको नियम अनि रात पर्दै आउँथ्यो । यी र यस्ता कुराले म सधैँ आततायी हुन्थेँ । दोस्रो दिनदेखि त आफ्ना–आफन्तका फोनको स्विच पनि रातभरि अन नै राखिन थाले । एकैछिनमा कहिले के हुन्छ । कहिले के हुन्छ । कसलाई के थाहा । आउन नसकेपछि वा सम्भव नभएपछि सबै कुरा फोनबाटै हुने हो । अरूले त दुःखसुख गरेर जिनतिन भात खालान् । मेरा यी साना दुधे बालकलाई कसले हुर्काइदेला । कसले बढाइदेला र पढाइदेला ? यिनकै भविष्य खेल्ने रातदिन आँखामा । यिनलाई म नभई एकछिन् हुन्न । एकछिन् नदेख्ने बित्तिकै मलाई नै खोज्न थालिहाल्छन् । मर्नु त एक दिन छँदै छ । यिनलाई हुर्काइ, बढाइ र पढाइदिएर मर्न पाए हुन्थ्यो, भन्ने मात्र हो ।

मानिसहरू भकाभक मरिरहेका छन् । तिनकै लाइनमा छु म पनि । कतिखेर पालो आउने हो । सास फेर्न गाह्रो हुन्छ भनेपछि आफ्ना–आफन्त सबै डराए । सबैले यही सम्झे । ती दुई साना नानीको चाहिँ अब विजोग मात्र नहुने भो । कन्तविजोग नै हुने भो । रातमा घर छोडेर हिँड्न खोजेको पनि सास फेर्न नभएर नै हो । त्यो रातमा घरबाट निस्केर टाढा कतै जाऔँ । एउटा ठूलो नदी वा खोलाको किनारमा जहाँ चारैतिरबाट हावा आओस् । रूखको फेदमा बसेर आनन्दले सास फेर्न पाउँ । यस्तै कुरा आउने मनमा । सास फेर्न सजिलोका लागि सकिनसकि म रातभरि दौडन्थे, घरभित्र । ओल्लो छेउ र पल्लो छेउ गर्थें । जीवनको यो अन्तिम घडीमा मैले अब जसरी पनि मृत्यु नअँगाली हुँदैन । जीवनका ५०औँ वसन्त त बिताएँ मैले यो धर्तीमा । यति नै रहेछ मेरो आयु यो धर्तीमा । यो मेरो जीवनको अन्तिम घडी हो । मैले मेरा मुटुका यी दुई टुक्रालाई हातले सुम्सुम्याउँदै भनेँ, तिमीहरू दुई मेरा मुटुका टुक्रा थियौ । मैले तिमीहरूका लागि भए पनि बाँच्नु पथ्र्याे । त्यो पनि भएन । मिल्ने भए म तिमीहरूलाई सँगै लिएर जान्थेँ, त्यो मिल्दैन । त्यसैले अब म अत्यन्त दुःखकासाथ तिमीहरूलाई छोडेर जाँदै छु । उनीहरू दुवै मेरो अनुहारमा टुलुटुलु हेरिरहेका थिए ।

मान्छे त मुढोजस्तो जताततै लडेका छन् । के हो यस्तो ! मरेका हुन् कि जिउँदा हलचल गर्दैन शरीर । यस्तो त मैले जानेको थिइनँ । यतिका मानिसलाई कसले खुवाउँछ पियाउँछ र यिनको स्याहारसंहार कसले गर्ने खै ! यिनलाई भेट्न यिनका आफ्ना–आफन्त आउँछन् आउँदैनन् । कहिले निको भएर घर जानु हो, यिनले । मेरा आँखा उग्रदैनन् । कानले मात्र यसरी बोलेको सुन्छु । त्यो पनि हो कि होइनजस्तो एकदम मसिनो स्वरमा । एकअर्काले सुन्ने गरी बोल्न पनि नमिल्ने यो कस्तो ठाउँ रहेछ । अस्पताल भन्छन् । झट्ट हेर्दा अस्पतालजस्तो पनि छैन । धन्न हाम्रो बिमारीलाई त यस्तोमा आउनु परेन । यस्तामा ल्यएर राख्नुपरेको भए हाम्रो बिमारीको पनि कन्तविजोग हुन्थ्यो ।

अराउने कुरा मैले घरमा सबै अराइसकेको थिएँ । म अब मर्छु । यी दुई छोराहरूलाई राम्रोसँग हुर्काउनु, बढाउनु, पढाउनु । जस्तोसुकै दुःखमा पनि यिनलाई नरुवाउनु । यिनलाई कहिल्यै टुहुरा भएको महसुस हुन नदिनु । आफूले दिने मायासँगै मैले दिने माया पनि दिनु । म माथिबाट हेरिरहेको हुनेछु । यसरी मैले पहिले नै सबै अराइसकेको थिएँ । अराउन बाँकी केही पनि थिएन । मेरो मनले आफ्नो ज्यानको वैतरणी पनि गरिसकेको थियो । सबै कुरा माया मारिसकेको थिएँ, तर खै ! कसोकसो म बाँचे । यसै भन्न आएछ । आँखा खोलेर हेर्दा वरिपरि आफ्ना–आफन्तहरू उज्यालो अनुहारमा गफिँदै बसेका रहेछन् । बिसेक हुँदै जान थाल्यो । मैले जीवन पाएँ । पुनर्जन्म पाएजस्तो पो भयो । मैले साँच्चै जितेँ कोरोनालाई । आत्मबल दरो बनाएकै कारण जितेँ । आत्मबल पनि रोगसँग लड्ने एउटा दरो भरोसा रहेछ । यो पनि मेरो जीवन यात्राको स्मृतिमा आइरहने एउटा अविस्मरणीय क्षण हो ।

प्रतिक्रिया