काठमाडौं । राष्ट्रिय वाणिज्य (रावा) बैंक लिमिटेड र नेपाल भलिबल संघबीच आठौं महिला तथा पुरुष भलिबल च्याम्पियनशिप–२०८० प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा रावा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् । २०८० चैत ३ देखि १० सम्म आयोजना हुने राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडि आरबीबी – एनभिए नाम राख्नु पर्नेछ । प्रायोजन स्वरुप बैंकले संघलाई १८ लाख रुपैंया प्रदान गर्नेछ । उक्त प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ९ गरी २१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताए । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले रावा बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट राष्ट्रिय खेलको रूपमा मानिएको भलिबल खेलको थप विकास र विस्तारमा सहयोग पुगेको बताए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, नेपाल भलिबल संघका पूर्व अध्यक्ष मनोरञ्जन शर्मालगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिंग सेवा रहेको छ ।
प्रतिक्रिया