पर्यटन प्रचारप्रसारको छैटौँ संस्करण सप्तरीमा

सप्तरी । ‘घुमौँ मधेस, बुझौँ मधेस’को छैटौँ शृंखला सप्तरीको राजविराजमा सम्पन्न भएको छ । मधेस प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उदेश्यले होटल तथा पर्यटन व्यवसायी माहासंघले प्रारम्भ गरेको कार्यक्रम सप्तरीमा पुग्दासम्म छैटौँ शृंखला सम्पन्न भएको हो ।

१ वर्षअगाडि बाराबाट सुरु भएको कार्यक्रम अहिलेसम्म रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा सम्पन्न भएको छ भने पर्सा र धनुषामा बाँकी छ । जिल्लागतरूपमा पर्यटकीय क्षेत्रहरूको स्थलगत अवलोकन, प्रचारप्रसार र सरोकारवाला निकायसगँको खुल्ला छलफलले प्रभावकारी बन्दै गएको यस कार्यक्रमलाई मधेस प्रदेश सरकारले स्वामित्व लिएको छ ।

योसँगै यसअघि व्यवसायी महासंघ मात्र एकल आयोजक बने तापनि सप्तरीमा भएको कार्यक्रमबाट भने मधेस प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय पनि आयोजक बनेको छ ।

राजविराजमा भएको बैठक तथा अन्तरक्रिया कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले कार्यक्रमको प्रभावकारिताले उत्साहित बनाएको बताए ।
‘घुमौँ मधेस, बुझौँ मधेस’ भन्ने अभियानले मधेसलाई देशमा नै चिनाएको र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण कोसेढुंगा सावित भएको सहभागीहरूको भनाइ छ ।

छलफलमा सहभागीहरूले तीनै तहका सरकारमाथि प्रश्न नै प्रश्न उठाएका छन् । पर्यटनका आधारहरू तयार गर्न तीनै तहका सरकार कमजोर रहेको भन्दै ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक पर्यटकीय क्षेत्रहरूलाई अगाडि बढाउन आवश्यक रहेको औँल्याए ।

पूर्वमन्त्री उमेश यादवले मधेस सरकारको यथास्थिति रवैयाले पर्यटन विकासमा परिणाम आउन नसक्ने ठोकुवा गरे । मन्त्रीहरूलाई योजना बनाउन फुर्सद नभएको कारणले कार्ययोजना बनाउन नसकेको मन्त्री यादवको भनाइ छ ।
मधेस प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अल मियालाई मधेस चिनाउने अभियानमा अगाडि बढ्न पनि सहभागीहरूले सुझाव दिएका थिए ।

सप्तरीका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीसहित सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधिले भने विकासमा हातेमालो नगरेको कारणले पछाडि परेको छिनमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जिकिर गरे ।

संघले समेत विकासमा हेर्ने दृष्टिकोण मधेसमा साँघुरो भएको बताउँदै सोही चेपुवामा आफूहरू परेको अध्यक्ष चौधरीको भनाइ छ ।
मन्त्री सकिल अल मियाले भने, ‘पर्यटन प्रवद्र्धनमा मैले नै स्वामित्व लिएको हो । कार्यक्रम निजी संस्थाले गरे तापनि यसको स्वामित्व आफूहरूले लिएका छौँ ।’ होटल तथा पर्यटन व्यवसायी संघको अभियानमा आफू सँगसँगै रहेको बताउँदै अघिल्लो आर्थिक वर्षमा समेत प्रदेश सरकारबाट उल्लेख्य बजेट विनियोजन गरेको उनले दाबी गरे ।

मन्त्री मियाले पर्यटनको आधार तयार गरेर आर्थिक समृद्धिमा भूमिका निभाउने पनि प्रतिवद्धता जनाए । मन्त्री नबन्दा पनिसमेत विकासमा घचघच्याइरहेको र अहिले मन्त्री बनेपछि पर्यटन उद्योगमा विशेष चासो देखाएको उनको भनाइ छ ।

प्रतिक्रिया