५ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकलाई कारबाही गरेको हो । कर्जा नोक्सानी व्यवस्थापनमा ध्यान नदिएको तथा कर्जा प्रवाहमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेपछि राष्ट्र बैंकले कारबाही गरेको जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्डलाई झण्डै १५ करोड जरिमाना

नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड बढी जरिमाना गरेको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै बैंकलाई जरिमाना लगाइएको हो । आव २०८१÷०८२ को दोस्रो त्रैमासिक (२०८१ पुस मसान्तसम्मको) अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिमाना लगाएको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल बैंकका पूर्वअध्यक्षलाई ५ लाख जरिमाना

नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीलाई कर्जा दुरुपयोगमा ५ लाख जरिमाना गरेको छ, भने बैंकका सिइओ तिलकराज पाण्डेलाई राम्रोसँग काम गर्न नसकेको भन्दै १ पटकका लागि सचेत गराएर छोडेको छ । पाण्डेलाई राष्ट्र बैंकले बैंक र सिइओबीच भएको सम्झौताअनुसार बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा योजना कार्यान्वयन गराउन नसकेको, कर्जा समयमै स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूबीच आपसी समन्वय गर्न नसकेको भन्दै एकपटकका लागि सचेत गराएर छोडेको छ ।

लक्ष्मी सनराइज बैंकका सिइओ अजय बिक्रम साहलाई कर्जा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, बैंकको संस्थापक सेयरधनीलाई निर्देशनविपरीत गएर कर्जा सुविधा उपलब्ध गराएको लगायत कसुरमा नसिहत दिएको छ । योसँगै बैंकले कर्जा वर्गीकरण नगरेको, खराब कर्जाअनुसार कर्जा नोक्सानी व्यवस्थापन पर्याप्त नगरेकालगायतका कसुरमा बैंकलाई कारबाही गरेको छ ।

कुमारी र राष्ट्रिय वाणिज्य बैंकका सिइओलाई सचेत गराइयो

कर्जा नोक्सानी व्यवस्थापनसँगै राष्ट्र बैंकले कडाइ गरेको कर्जा वर्गीकरणमा बैंकहरूले बेवास्ता गर्दै निष्क्रिय कर्जा पनि सक्रिय कर्जामा वर्गीकरण गर्ने पाइएपछि राष्ट्र बैंकले बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंकले निष्क्रिय कर्जा र सूक्ष्म निगरानी कर्जामा वर्गीकरण नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई यसो नगर्न सचेत गराएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार केही कर्जाहरूलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । त्यस्तै, केही कर्जाहरूको जोखिम भार गणना गर्दा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भार गणना नगरेको तथा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाहरूको पूर्ण पालना गरेको नपाइएकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी सनराइजका सिइओलाई नसिहत

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ । उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकले कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरूको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको थियो । नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरू सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात् उक्त कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा बैंक गम्भीर नरहेको पाइएपछि कारबाही गरेको जनाएको छ ।

प्रतिक्रिया