‘माइतीघर’को शुभ साइत सम्पन्न

काठमाडौँ । नायकद्वय केदारप्रसाद घिमिरे(माग्नेबुढा), प्रकाश सपूत र धीरज मगर अभिनीत चलचित्र ‘माइतीघर’को शुभसाइत गरिएको छ । चलचित्रको शुभसाइतसँगै म्याग्दीको ताकम गाउँको गणेश मन्दिरमा पूजा गरी छायांकन सुरु गरिएको हो । शुभसाइत समारोहमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले पहिलोपटक गाउँमा चलचित्रको छायांकन हुन लागेको भन्दै खुसी व्यक्त गरे । यो चलचित्रले गाउँको पर्यटन प्रवद्र्धनमा समेर महत्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनले राखे ।

त्यस्तै, समारोहमा वडा–७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि चलचित्रको उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए । शुभसाइत समारोह अघि चलचित्रको टिमलाई गाउँमा बाजा बजाएर स्वागत गरिएको थियो ।

निर्माता रोहित अधिकारीका अनुसार चलचित्रको २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकीको २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुनेछ । यो चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशनमा बन्ने चलचित्रमा सुसन प्रजापतिको छायांकन रहनेछ । चलचित्रलाई दसैँको फूलपातीबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । चलचित्रको कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् ।

प्रतिक्रिया