काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको संवेदनशील कथामा बनेको यस चलचित्रको लागि देशभरका हलहरूले अग्रिम टिकट बिक्री सुरु गरेको हो ।
चलचित्रमा बालकलाकार आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिका निभाएकी छन् । साथै, चलचित्रमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ । यसअघि ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन् ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् ।
प्रतिक्रिया