‘कुनबेला जनावरको आक्रमणमा परिन्छ, थाहा छैन’

अभिशाप बन्दै निकुञ्ज

काठमाडौं । गत बिहीबार बाघका आक्रमणमा परी पर्साको पटेर्वा सुगौली–२ लक्ष्मीपुरका २३ वर्षीय सरोज अधिकारी गम्भीर घाइते बनायो । बाघले चिथोरेर र टोकेर शरीरका विभिन्न भागमा गम्भीर घाउ भएका अधिकारी यतिबेला वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका छन् ।

यस्तै, गत पुस ८ गते साँझ बाघकै आक्रमण गरी पटेर्वा सुगौली–२ थरकट्टीका ३२ वर्षीय मनोज महतोले ज्याने गुमाउनुप¥यो । ट्वाइलेट गएका बेला बाघको आक्रमणमा परेका उनको शरीरको केही भाग भोलिपल्ट बिहान जंगलको केही पर क्षत्विक्षत् अवस्थामा भेटियो ।

गत सोमबार मात्रै पनि पर्साको जिराभवानी गाउँपालिका–४ मा बाघले पूर्ववडाध्यक्ष सुभाष राउतसहित स्थानीयका बाख्रा बाघले मारेर खायो । खोरभित्रै पसेर बाघले २ वटा बाख्रा र एउटा खसी मारेकामा खसीलाई भनेर घिसारेर लगेको थियो ।

यस्तै, गत फागुन १६ गते पर्साको पर्सागढी नगरपालिका–७ का ललन यादवको गोठमा राखेका ७ वटा बाख्रा मारेको बाघले सोही राति पर्सागढी–१ कोलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेका ४ वटा बाख्रा पनि खाएको थियो ।

यस्तै, गत कात्तिक ८ गते जंगली हात्तीले आक्रमण गर्दा पर्सागढी–१ निवासी एकवाल हजराको मृत्यु भयो । सोही राति हात्तीले सो गाउँका १ दर्जन स्थानीयको घर भत्काउने र अन्नबाली खाने गरेको थियो ।

पछिल्लो २ महिनाको अवधिमा पर्साको पटेर्वा सुगौली, पर्सागढी नगरपालिका र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट २ दर्जनभन्दा बढी व्यक्ति घाइते भएको र बाख्रा, गाई र भैँसी गरी ३ दर्जनभन्दा बढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

पर्साका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायत जंगली जनावरको आक्रमणबाट बर्सेनि सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । जंगली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भए पनि घाउमा इन्फेक्सन भएर केही समयपछि मृत्यु हुने गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनजंगलबाट आउने बाघ, हात्तीलगायत जंगली जनावरले मानव बस्तीमा पसेर मानवीय तथा पशु चौपायालाई क्षति पु¥याउनुका साथै गहुँ तथा तरकारी नष्ट गर्न थालेपछि स्थानीय बालीनालीको सुरक्षाका लागि राति जाग्राम बस्न बाध्य भएका छन् ।

पर्साको जिराभवानी, ठोरी, पटेर्वा सुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका १ दर्जन गाउँका किसान जंगली जनावरबाट पीडित भएका छन् । वनजंगलबाट आउने चित्तल, हात्ती, हरिण, नीलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायत जंगली जनावरले गहुँ, मकै, आलु, तोरीलगायत बाली सखाप पार्ने गरेकाले जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताए ।

राष्ट्रिय वनमा घेरबार नहुँदा दैनिकजसो जंगलबाट आउने जंगली जनावरले बालीनली नष्ट पार्ने गरेको श्रेष्ठले बताए । खासगरी रातको समयमा आउने जंगली जनावरले गहुँबालीमा व्यापक क्षति पु¥याउने गरेकाले क्षति न्यूनीकरणका लागि सो ठाउँमा मचान बनाएर राति निगरानी गरिरहेको जिराभवानी गाउँपालिकाका किसान शंकर महतोको भनाइ छ ।

रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जंगली जनावरलाई भगाउन टिन ठटाउने र होहल्ला गर्ने गरेको महतोले बताए । स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनका जीवजन्तुले बर्सेनि उत्पात मच्चाँदै व्यापक धनजनको क्षति पु¥याउँदै आएकाले यसको नियन्त्रणको ठोस पहल गर्न नयाँ सरकारसँग स्थानीयले आग्रहसमेत गरेका छन् ।

जंगली जीवजन्तुको उत्पातबाट हाम्रो जीवन नै संकटमा परेको छ,’ पटेर्वा सुगौली–२ का स्थानीय सुमन अधिकारी भन्छन्, ‘कतिबेला जंगलबाट बाघ, भालु र हात्ती आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा हामी बाँचिरहेका छौँ ।’ जंगली जनावरका कारण आफू न स्वतन्त्र रूपमा हिँडडुल गर्न सकिरहेका छौँ, न त निर्धक्क घरकै सुत्न पाइरहेका छौँ,’ उनको दुखेसो छ ।

पटक–पटक जंगली जनावर नियन्त्रणका लागि स्थानीयबासीबाट माग उठ्दै आए पनि सरकारी स्तरबाट खासै कुनै पहल नभएको सुनाउँदै ठोरी गाउँपालिकाका रामबहादुर श्रेष्ठ भने, ‘हामीले जंगली जनावरको आतंक रोक्न धेरैपटक आवाज उठायौँ । तर, अहिलेसम्म हाम्रो समस्या समाधान भएन ।’ बाघ, हात्ती, अर्ना, भालुलगायत जंगली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयबासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन जनप्रतिनिधिसँग समेत आग्रह गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साहले राष्ट्रिय वनजंगल आसपास क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताए । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जंगल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जंगली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठुला खाल्डा खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

आफूहरूसँग बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको उनको भनाइ छ । तर, यो समस्या समाधानबारे आफूले सम्बन्धित निकायमा पत्राचार गरेको उनले जनाए ।

‘बाघको उद्धार गर्ने स्पेसल टोली चितवन राष्ट्रिय निकुञ्जमा छ,’ उनले भने, ‘त्यहीँबाट टोली माग गरेका छौँ । टोली आइसकेपछि बाघको उचित व्यवस्थापन तथा उद्धारमा जुट्नेछौँ ।’ पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानव बस्तीमा बाघ पसेर मानवीय क्षति पु¥याउने कार्यप्रति आफू गम्भीर रहेको र तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया