बझाङमा भूकम्प प्रभावित युवाहरुका लागि डकर्मी तालिम

बझाङ । बझाङ जिल्लामा भूकम्प प्रभावित युवाहरुका लागि सातदिने डकर्मी तालिमको उद्घाटन भएको छ । बुधबार दलित सहयोग समाज वल्र्डभिजन ईनटरनेशनल नेपालको आर्थिक सहयोगमा केदारस्यु गाँउपालिकाको झोतामा तालिमको उद्घाटन भएको हो ।

उक्त तालिमको उद्घाटन कार्यक्रममा बोल्दै दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकले केदारस्यु गाँउपालिका भित्रका सातवटै वडाहरुमा पहिलादेखि नै गाँउघरमा डकर्मी काम गर्दै आएका तर भूकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने सीप–ज्ञान नभएकाहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन र सीप प्रदान गर्न तालिममा सहभागी गराएको बताए ।

अध्यक्ष विकले संस्थाले केही वर्षयता गाँउपालिकामा शिक्षा जिविकोपार्जन लगायतका कामहरु पनि संस्थाले गर्दै आएको केही महिनाअघि पश्चिम नेपालमा आएको भूकम्पले बझाङ जिल्लामै ठूलो क्षेति गरेको हुँदा वल्डभिजन इन्टरनेशनल नेपाल र आफ्नो संस्थाले भूकम्प प्रतिरोधी घर बनाउन स्थानीयस्तरमा रहेका डकर्मी काम गरेकाहरु दक्ष बनाउन यो तालिमको आयोजना गरेको र तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरी भूकम्प गाँउघरमा पनि भूकम्प प्रतिरोधी घर सकिन्छ भन्ने सन्देश दिन सकिने बताए ।

नेपाल सरकारले भवन निर्माण निर्देशिका लागु गरिसकेको हुँदा केही पालिकाहरुले त्यो निर्देशिकालाई आफ्नो पालिकामा लागु गरेको र अब बन्ने घरहरु भूकम्प प्रतिरोधी हुनुपर्ने प्रशिक्षक लोकेश भट्टले बताए ।

भट्टका अनुसार आफूले यो सातदिने तालिमा भूकम्प प्रतिरोधी घर कसरी बनाउने घर जग बनाउँदा जाली कसरी बनाउने, विम पिल्लर घरको छत ढलान कसरी बनाउने घरको ढोका झ्याल कुन ठाँउमा राख्ने बालुवा सिमेन्ट कति राख्नेलगायतका कुराहरु समेट्ने बताए । कार्यक्रममा सात वटै वडाका ३० भन्दा बढी डकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया