स्वस्ती सलाम मात्र गरेन भनेर प्याकुरेल थरि धेरैजसो धुपौरे नेताले पोल लगाएर मैमाथि कार्यबाही गर्न गराउन पनि सक्छन् । तैपनि तपाईंले आफ्नो जन्मोत्सव मनाएका विषयमा केही महत्त्वपूर्ण सांस्कृतिक संवेदनशील विचार राख्ने दुस्साहस गरेको छु । जननेता मदन भण्डारीले वैदिक सनातनलगायत संस्कार र संस्कृतिका अनेकौँ महत्त्वपूर्ण पक्षहरूको जगेर्ना गर्ने क्ुरा गर्नुभएको छ र तिनमा निहित कैयौँ विकृतिलाई कलात्मक हस्तक्षेपमार्फत् निष्प्रभावी पार्न सकिने कुरा पनि उल्लेख गर्नुभएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको जन्मोत्सवका अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा सफलतम जीवनको शुभकामना व्यक्त गर्दछु । जन्मोत्सवको कार्यक्रमको मोबाइलमा प्रत्यक्ष प्रसारण गरेपछि थाहा भयो । नेतृ सुजाता शाक्यले जन्मोत्सवको कार्यक्रमबारे सकारात्मक टिप्पणी गरेका पनि सुनियो ।
पार्टीको महासचिव भएका नाताले देश र जनताका हितमा उदाहरणीय काम गर्न उच्चतम सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेको हुँु । किनभने एउटा व्यक्ति मात्र नभएर तपाईं नेपालको सही कम्युनिस्ट आन्दोलनको एउटै मात्र मूलधार र प्रवाह रहेको एमाले पार्टीको महासचिव हुनुहुन्छ । संस्थागत रूपमा चिनिएका व्यक्तित्वका हरगतिविधि र क्रियाकलापहरू जन सामान्यका लागि सहजै अनुकरणीय विषय बन्छन् तर विषय विज्ञका लागि भने ती विषय विवेचनात्मक र विश्लेषणात्मक विषय पनि बन्छन् । तर स्वस्ती सलाम मात्र गरेन भनेर प्याकुरेल थरि धेरैजसो धुपौरे नेताले पोल लगाएर मैमाथि कार्यबाही गर्न गराउन पनि सक्छन् । तैपनि तपाईंले आफ्नो जन्मोत्सव मनाएका विषयमा केही महत्त्वपूर्ण सांस्कृतिक संवेदनशील विचार राख्ने दुस्साहस गरेको छु ।
जननेता मदन भण्डारीले वैदिक सनातनलगायत संस्कार र संस्कृतिका अनेकौँ महत्त्वपूर्ण पक्षहरूको जगेर्ना गर्ने क्ुरा गर्नुभएको छ र तिनमा निहित कैयौँ विकृतिलाई कलात्मक हस्तक्षेपमार्फत् निष्प्रभावी पार्न सकिने कुरा पनि उल्लेख गर्नुभएको छ । जबज भनेको राजनीतिक सत्ता र सरकार केन्द्रित दस्तावेज मात्र होइन, यो सांस्कृतिक रूपान्तरणसित घनिष्ट रूपमा जोडिएको अनमोल सिद्धान्त हो । भण्डारीलाई धर्मको सही व्याख्या गरिएको छैन भन्ने थाहा थियो । उहाँलाई अग्निपुराण ज्ञानकोष हो भन्ने पनि थाहा थियो । भण्डारीलाई उहिल्यै जात, पात, उँच र नीचजस्ता विभाजनकारी र चरम रुढीगत मान्यता थिएन भन्ने पनि थाहा थियो ।
दासी पुत्र विदुर पानीसम्म नचल्ने जातका सन्तान त्यो समाजमा कर्मले सम्मानित भएका हुन् र १८ पुराणका रचयिता भनिएका व्यास जन्मले उच्च कुल र घरानाका होइनन् भन्ने पनि मदनलाई थाहा नहुने कुरा थिएन । गहिरो अध्ययन गरेपछि थाहा हुनु स्वभाविक छ । त्यसैले वैदिक सनातन वा हिन्दू धर्मभित्र नै जीवन उपयोगी, समाज उपयोगी तथा मानव समाजलाई सभ्य र भव्य बनाउने पक्षहरू छन् तर त्यहीँ चरम रुढीवादी चिन्तन र चरित्र पनि विद्यमान छन् ।
यस्ता सकार र नकारका मान्यताहरूको चर्चा गरेर भण्डारी धार्मिक जनताका बीच छलफल चलाउनुहुन्थ्यो र सकारात्मक धार्मिक संस्कार र संस्कृति अपनाउन चित्तबुझ्दो गरी सम्झाउनुहुन्थ्यो र तिनलाई रूपान्तरण गर्न भरपुर प्रयत्न गर्नुहुन्थ्यो । किनभने उहाँमा समाजलाई गुणात्मक रूपान्तरण गर्ने विषयमा पर्याप्त ज्ञान थियो । अनि पो पार्टी नेता र कार्यकर्तामा समाजलाई गुणात्मक रूपान्तरण गर्ने विषयको राम्ररी बोध हुन्छ । पार्टी अध्यक्ष केपी ओलीले नै ‘कराग्रे बसते लक्ष्मी’को वस्तुपरक व्याख्या गर्नुभएको थियो । विगत कालमा धर्म, संस्कार र संस्कृतिको गरिएको उल्टा व्याख्या सुल्ट्याउने हो भने त्यो समाज रूपान्तरणको महत्त्वपूर्ण महान् विषय र सामग्री बन्ने देखिन्छ । माक्र्सले भौतिकवादको सुल्टो व्यख्या र विश्लेषण गरेर माक्र्सवादको प्रतिपादन गरेको हो । अहिले पनि रुढीगत धर्मिक गतिविधि र क्रियाकलापहरू जनमन ग्रस्त देखिन्छ । यसको सिकार कम्युनिस्ट नेताहरू नै मनग्गे छन् ।
यही कुरालाई मनन गरेर यस लेखकले अर्वाचीन पुराणको परिकल्पना र यसको आफ्नै घरमा प्रयोग गरेको हो । तर सुनिदिने को छ र आफू न नेता परियो न नेताको नाताको । कार्ल माक्र्सले धर्मलाई अफिम भनेको विषयको अहिलेसम्म अपव्याख्यामा हामी रमाइरहेका छौँ । माक्र्सले क्याथोलिक धर्मका तुलनामा प्रोटेस्टेट धर्मलाई सकारात्मक ठहर गर्नुभएको थियो । माक्र्सले जीवन जगत्को उत्थान र विकास निर्माणमा भगवान्को कुनै पनि कारण र प्रभाव हुँदैन । यस्ता चरम अन्धविश्वासी कुरामा भर पर्नु परेर कसैको प्रगति हँदैन भन्नुभएको हो । उहाँले यो वा त्यो धर्म मान्नु नमान्नु भनेर कहिल्यै भन्नुभएको थिएन र छैन । बरु उहाँले धर्म र भगवान्को एकोहोरो अन्धभक्तिको नसा अफिमजस्तै खतरानाक हुन्छ भन्नुभएको हो । असाध्य रोगबाट पीडित मानिसलाई कथित धर्म र ईश्वरले अफिमले झैँ एकछिन लठ्याएर क्षणिक राहत दिएजस्तो मात्र हो । माक्र्सले धर्मसम्बन्धी भनेका समग्र विषय र पक्षहरू नबुझी अज्ञानताबस कम्युनिस्टहरूले धेरै अतिवादी वा ज्यादती काम गरेका छन् । नास्तिक अभियानका नाममा रुस र चीनमै पनि धार्मिक नरसंहार गरिएको थियो । सर्वनाशपछि चेत खुलेर चीनमा धर्म र संस्कृतिसम्बन्धी चेत खुल्यो ।
नेपालमा बाह्य आवरणमा कम्युनिस्ट देखिने तर भित्रभित्रै चरम धार्मिक अन्धवाद व्याप्त देखिन्छ । ब्रतबन्धको मूल तात्पर्य नै नबुझी छोराको बिरालो बाध्ने खालको ब्रतबन्धमा लाखौँ खर्च गर्ने पार्टी स्थायी समितिका सदस्य कोसी प्रदेशमै देखियो । मिसन ग्रास रुट अभियानमा सुनसरी अएका÷आएकी नेताले आफू हिँडेका बाटो बिरालोले काटेको देखेपछि तिनको होस हवास उडेको थियो । नयाँ नयाँ विद्यार्थी भर्ना गर्ने, पार्टीमा आयाराम र गयाराम भइरहने तर तिनलाई प्रशिक्षित गर्ने काम फिटिक्कै नगर्ने रोग व्याप्त छ । अहिले नै पनि विभिन्न प्रदेश जिल्ला र नगरहरूमा आन्तरिक अन्तर्विरोधलाई समाधान गर्ने सोच विशेष अभियानका नेतामा खासै भएको देखिन्न । गरिस् गरेँ तालले परिणाम आउन सक्तैन । औपचारिक सतही भाषण र निर्देशन मात्र गरेर काम सफल हुँदैन ।
धार्मिक सांस्कृतिक र संस्कारजन्य अन्धरूढीले जनमनमा गहिरो प्रभाव पारेको छ तर जीवन जगत् र संस्कृतिसम्बन्धी जीवनवादी तथा समाजोपयोगी पक्ष प्रसंगहरूमाथि जनतामा स्वतःस्फूर्त उत्प्रेरणा जगाउने काम गरिएकै छैन । यसमा माक्र्सवादी सांस्कृतिक दूरदर्शी नेतृत्वकै अभाव हो, समाजको गुणात्मक रूपान्तरण गर्ने सोचकै अभाव हो । जानेदेखि बोल्दा मात्र काम हुन्छ । सामन्तवादीहरूले परम्परागत धार्मिक सांस्कृतिक र संस्कारसम्बन्धी रुढीहरूलाई विचार, रचना र संगीतमय कलात्मक रूपमा अहोरात्र प्रवाह गरिरहन्छन् ।
भात खाँदा होस् कि अरू कु्नै पनि बेलाको जीवनको दैनिकीमा होस् धर्मका नाममा भाग्यवाद हरतरहले भट्याइन्छ र यसरी हजारबार त्यो पनि सुमधुर स्वर, संगीत र नृत्य र नृत्य र नाट्यमार्फत् प्रचार गरेपछि असत्यलाई जनमनले सत्य नै मान्छ कसरी जनमनमा प्रभाव पार्नुपर्छ सामन्तवादी र पुँजीवादीलाई थाहा छ कम्युनिस्टलाई यस विषमा एककन्चो ज्ञान छैन । सामन्तवादले सुमधुर स्वर संगीतका माध्यमबाट मनै लोभ्याउने गरी भाग्यवाद प्रवाह गर्छ । अनि प्रगतिशील वा प्रगतिवादी भनिने वरिष्ठ स्रष्टा र लेखक कविहरू पनि गोष्ठीमा त्यही भाग्यवादी कविता नै पढ्छन् । सबै किसिमले जनताको उल्टो चरम शोषण उत्पीडन गर्ने राजनीतिलाई जनतामा हाबी बनाइरहेको छ र अनि निर्धा, निमुखा अज्ञानी र सिदासिदा जनता भने सामन्ती पुँजीवादी शोषक शाषकको सत्ता र सरकारका लागि मर्न मिट्न तयार हुन्छन् र भएका छन् ।
तर, यस्ता विषयमा बोलिदिने खासै देखिन्न । बोल्ने ठाउँमा विराजमानलाई यति कुरा पनि थाहा छैन र बोल्दैन । भुर्इं मान्छेले भनेको कसैले गन्दैन । तर यो लेखक अलि फरक छ र यसले विश्वामित्रले झै सडकबाट इन्द्रको आसन हल्लाउने सम्मको तागत राख्छ । अधिकांश कम्युनिस्टहरू जननेता मदन भण्डारीको संस्कृतिका क्षेत्रमा कलात्मक हस्तक्षेपको अर्थ नै नबुझेर हैरान देखिन्छन् । बरु सामन्तवादले आफ्ना हितमा कलात्मक हस्तक्षेप गर्ने कुरामा धेरै बाठो देखिन्छ । यस्ता विषयमा सामन्तवादी र पुँजीवादी राज्य र सरकार पूरै लागिपर्छ तर यता आफ्ना लेखक, कलाकार र बुद्धिजीवीलाई उपेक्षा गरिन्छ ।
जन्मउत्सव मनाउने परिपाटी हाम्रा पूर्वजले सुरुआत गरे । अष्ट चिरञ्जीवीजस्तै दीर्घायुको कामना गर्ने परिपाटी उनीहरूले सुरु गरे । मानिसको तत्कालीन चेतनाले जे जति भ्यायो त्यही गरे । उहिल्यै मानव पुर्खाले जसले बढी दिन्छ, र समाजको भलाइका लागि आफूलाई समर्पित गर्छ, त्यसलाई देवता र भगवान् भने । यसरी उनीहरूको नजरमा वायु, जल, जंगल, अग्नि, सूर्य, वनस्पति आदि देवता हुन् । ईश्वर र भगवान्का पनि वस्तुपरक व्याख्या छन् । आत्मा भनेको जीव, देश र शरीर हो तर उहिल्यै यसको जे जस्तो व्याख्या गरियो त्यसैमा भर परेको भए माक्र्सवादको जन्म नै हुने थिएन । त्यसैले संस्कार र संस्कृतिका सम्बन्धमा हाम्रा पुर्खाका विचार धारणा र व्यवहारमा सकारात्मकता देख्न सक्नुपर्छ ।
हामीले बत्ती निभाएर होइन बत्ती बालेर जन्मोत्सव गर्ने हो । बत्ती बलेझैँ देदीप्यमान हुनु भन्ने हाम्रो सांस्कृतिक आदर्श हो । यो कुरा यस प्रसंगमा सबैले सुन्ने र थाहा पाउने गरी बताउनुपर्छ र मात्र सही विचार र संस्कृतिबारे जनमनले थाहा पाउँछ । दियो, कलश र गणेश एउटा प्रतीक हो । उद्घाटन समारोहमा दियो वा कलश अहिले पनि बाल्नुको कारण यही हो । यसो गर्दा जात जाने होइन र केक काट्ता इज्जत बढ्ने होइन । हाम्रा पुर्खाले सभाभ्यो नमः भने अर्थात् सभामा उपस्थित श्रोता र दर्शकलाई पहिलो नमन गर्नुको अर्थ जनता सर्वशक्तिमान भन्ने आशय हो । अनि मात्र सभापतिभ्यो नमः अर्थात् सभापतिसहित मञ्चासीनलाई नमन भने । के गल्ती गरे ? यस्ता संस्कार मनाउँदा हाम्रा आफ्नै संस्कृतिका सकारात्मक पक्षहरू प्रवाह गर्दा भावी पुस्ताका लागि अनुकरणीय अनुसरणीय विषय हुन्छन् ।
पश्चिमा परम्पराको अन्ध नक्कल गर्दा हामी संस्कृतिविहीन हुने खतरा देखिँदै छ । केबल नारा र भाषणमा सांकृतिक रूपान्तरण हाम्रो अभियान भन्ने तर यस विषयको गुदीतत्वमा प्रवेश नै नगर्ने दयनीय अवस्था छ । यस अवस्थामा महासंघका केन्द्र्रीय सदस्य तथा प्रसिद्ध कलाकार ओम विक्रम ओझाका स्व. पिता घर्सीराम ओझाका स्मृतिमा महासंघ, सुनसरीले श्रद्धाञ्जली सभासँगै मृत्यु संस्कार विमर्श कार्यक्रम सम्पन्न गरेको छ । यहाँ त आफू नजान्ने अनि भनेको पनि नमान्ने अराजकताले रूपान्तरणको काम शून्य अवस्थामा रहेको देखिन्छ । अनि कसरी नेता, कार्यकर्ता, बुद्धिजीवी र स्रष्टालाई रूपान्तरित गर्न सकिन्छ । यति पनि नगरी मिसन ८४ कसरी सफल हुन्छ । लागेपछि त भित्री मनदेखि नै लाग्नुपर्ने होइन र ?
प्रतिक्रिया