पूर्वविद्यार्थी खोज्दै प्रधानमन्त्री उत्पादन गरेको आदर्श मावि

इलाम । इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालय प्रधानमन्त्रीदेखि संविधानसभा अध्यक्ष र मन्त्रीहरू उत्पादन गरेको विद्यालय हो । २००४ जेठ १६ गते स्थापना भएको जिल्लाकै पुरानो विद्यालय आदर्श माविले राजनीतिक रूपमा देशकै कार्यकारी नेतृत्व गर्ने प्रधानमन्त्री, संविधानसभा अध्यक्ष तथा मन्त्रीहरू उत्पादन गर्यो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्बाङ, पूर्वमन्त्रीहरू कुलबहादुर गुरुङ, नरेन्द्रविक्रम नेम्बाङ, सोमनाथ बाँस्तोला, वेनुपराज प्रसाईं, पूर्वराज्यमन्त्री केशव थापा, प्रतिनिधिसभा सदस्य महेश बस्नेतलगायत दर्जनौँ उच्चओहदामा पुग्न सफल नेतृत्वकर्ताहरू आदर्श माविको उत्पादन हो ।

स्थापना भएको ७६ वर्षपछि आदर्श माविले आफ्नो विद्यालयमा अध्ययन गरेर विभिन्न क्षेत्रमा आवद्ध पूर्वविद्यार्थीहरूको विवरण संकलन सुरु गरेको छ । ‘पूर्वविद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम’ तर्जुमा गरी पूर्वविद्यार्थीहरूको विस्तृत विवरण संकलन गर्न थालिएको प्रधानाध्यापक कुमार पौडेलले बताए ।

मंगलबार विद्यालयमा पत्रकार भेटघाट गरी पूर्वविद्यार्थीहरूको विवरण संकलन गरी वेबसाइटमा सार्वजनिक गर्ने तयारी भइरहेको प्रधानाध्यापक पौडेलले बताए । ‘यस विद्यालयबाट एसएलसी÷एसइइ र कक्षा १२ उत्तीर्ण गरी हालसम्म १३ हजार ४५ जना पासआउट भएर गएका रहेछन्’, पत्रकार भेटघाटमा प्रधानाध्यापक पौडेलले भने, ‘उहाँहरू कुन–कुन क्षेत्रमा र कुन–कुन ओहदामा पुग्नुभएको छ भन्ने यकिन अभिलेख तयार गर्न उहाँहरूको विवरण संकलन गरिरहेका छौँ ।’

विद्यालयले आउँदो फागुन २६ गते विद्यालयमा ‘पूर्वविद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम’ आयोजना गरी पूर्वविद्यार्थीहरूको यकिन अभिलेख सार्वजनिक गर्नुका साथै उच्च ओहदामा विशेष योगदान गरेका पूर्वविर्थीहरूलाई सम्मानसमेत गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडानन्द अधिकारीले बताए । सो विद्यालयले पहिलोपटक विगतका र वर्तमानका विद्यार्थीहरूको एकै ठाउँमा भेटघाट गराउन लागेको हो ।
‘हामी हाम्रो विद्यालयबाट पासआउट भएका पूर्वविद्यार्थीको यकिन विवरण संकलन गरी अभिलेख वेबसाइटमार्फतसमेत सार्वजनिक गर्नेछौँ’ विव्यस अध्यक्ष अधिकारीले भने, ‘अभिलेखका आधारमा उच्च ओहदामा पुगेर समाजका लागि विशेष योगदान गरेका र विद्यालय स्थापनामा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरूलाई सम्मानसमेत गरिनेछ ।’

कार्यक्रममा सम्मानसहित विद्यालयलाई विगतमा योगदान गरेका अग्रजहरूको फोटो प्रदर्शनी, पूर्वविद्यार्थी तथा शिक्षक कोमल निरौलाद्वारा रचित आदर्श माविको स्कुल गीत सार्वजनिक, पूर्वविद्यार्थी समाजको सदस्यता वितरण, विद्यालयको मार्गचित्र प्रस्तुति, पूर्वविद्यार्थीको छुट नामावली संकलन, विद्यालय र पूर्वविद्यार्थीसँग सम्बन्धित फोटोहरूको प्रदर्शनी, विद्यार्थीको उन्नयनसँग सम्बन्धित शीर्षकमा छलफल र प्रस्तुति तथा विज्ञान समूहका विद्यार्थीहरूबाट नयाँ अभ्यासको प्रस्तुति रहने प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

आदर्श माविले २०५७ सालदेखि कक्षा ११ र २०५८ सालदेखि कक्षा १२ को पठनपाठन सुरु गरेको थियो । सो विद्यालयमा १ हजार ४ सय ४० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पौडेलले बताए । कक्षा ८ सम्म नेपाली माध्यम (अतिरिक्त अंग्रेजी विषय) र कक्षा ९ देखि १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा अध्यापन गर्दै आएको सो विद्यालयमा ११ र १२ मा मात्र नौ सयको हाराहारीमा विद्यार्थी रहेको उनले बताए ।
कक्षा ११ र १२ मा विज्ञान, कानुन, व्यवस्थापन, मानविकी र शिक्षा विषय समूहअन्तर्गत विभिन्न विषय पढाइ हुँदै आएको छ । सो विद्यालयमा नेपाल सरकारको दरबन्दीका २८ र विद्यालयको आन्तरिक स्रोतबाट तलबभत्ता खाने गरी निजी वार्षिक करारका ३६ गरी ६४ जना शिक्षक र कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया