जीतपुरसिमरामा नगर प्रहरीमा भर्ना प्रक्रिया सुरु

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति, सुरक्षा र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो ।

नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो । उपमहानगरले तत्कालका लागि एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा दरखास्त आव्हान गरेको छ । नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन् ।

‘कार्यालयमा भिड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्’, नगरप्रमुख राजन पौडेलले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ ।’

जीतपुरसिमरा उपमहानगरपालिकाले एक जना प्रहरी सहायक निरीक्षक खुल्ला, प्रहरी जवान सात जना खुल्ला, तीन जना महिला, दुई जना दलित, एक जना आदिवासी जनजाति, एक जना मधेसी गरी १३ जनाको भर्ना प्रकिया सुरु गरेको छ ।

जथाभावी फोहोर गर्ने, सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने नगरपालिकाले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका स्थापना भएदेखि नै नगर प्रहरी भर्नाको कुरा कार्यापलिका बैठकमा उठ्दै आएको थियो ।

प्रतिक्रिया