जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरको क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णाली प्रदेशबाहेक आठ वटा टिम सहभागी हुने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । उक्त प्रगियोगितामा ६ वटा प्रदेश, एक विभागीय र एक आयोजक टिम रहनेछ । १ सय ४४ जना महिला खेलाडी खेलमा सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितीय पुरस्कार १ लाख र तृतीय पुरस्कार ५० हजार रुपैयाँ र उत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ ।
प्रतिक्रिया