खोइ सरकारको नजर ?

गर्न सकेन भारतमा रहेको नेपाली पशुपतिनाथ मन्दिरको व्यवस्थापन

काशी विश्वभरीकै हिन्दूहरूका लागि आस्थाको केन्द्र हो । मोक्ष प्राप्तिका साथै काशी विश्वनाथ महादेवको दर्शनका लागि कम्तीमा एकपटक काशीको धर्तीमा पुग्ने धोको हिन्दूहरूको हुन्छ नै । भारतको विभिन्न स्थानका साथै नेपालीहरू समेत काशी विश्वनाथ महादेवको दर्शन र गंगा स्नानका लागि पुग्ने गर्छन् । किनकी नेपाल र काशीको सम्बन्ध अहिलेको नभई वर्षौं पुरानो रहेको छ ।

बनारस त्यो भूमि हो जहाँबाट विश्वेश्वर प्रसाद कोइरालाले नेपाललाई राणाशासनबाट मुक्ति दिलाउने प्रेरणा प्राप्त गरेका थिए । भारतीयहरू इस्ट इन्डिया कम्पनीविरुद्ध संघर्ष गरिरहँदा बनारसमै रहेर भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका कोइराला नेपाललाई पनि जहानीयाँ राणाशासनबाट मुक्ति दिलाउने प्रेरणा प्राप्त गरेका थिए । यसका साथै १० वर्ष सशस्त्र संघर्ष गरेका माओवादीका कैयौँ नेताहरूका लागि पनि यो सुरक्षित आश्रयस्थल बनेको थियो ।

यी सबका अतिरिक्त वर्षौं पुरानो नेपालको विरासत काशीस्थित गंगा घाटमा अहिले पनि ठडिएर रहेको छ । काशीको ८० वटा प्रसिद्ध गंगाघाटहरूमध्ये ललिता घाट अहिले पनि नेपालको पहिचान लिएर गंगाको निर्मल धारको किनारमा अवस्थित छ । ललिता घाटमा रहेको हुबहु राजधानी काठमाडौंस्थित रहेको पशुपतिनाथ महादेव मन्दिरकै शैलीमा निर्माण गरिएको सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर यस घाटको रौनकतालाई अन्य घाटभन्दा फरक बनाउँछ । दशाश्वमेध घाट र मणिकर्णिका घाटको बिचमा रहेको ललिता घाटले आफ्नो छुट्टै पहिचान बोकेको छ । यस घाटलाई सुरुमा नेपाली घाट, राजराजेश्वरीघाट भनिँदै अए पनि कालान्तरमा ललिता देवी मन्दिरको नामले यस घाटको नाम ललिताघाट पर्न गएको हो । भारतको अयोध्यामा भरखरै प्राण प्रतिष्ठा गरिएको राम मन्दिरको रिर्पोटिङको क्रममा सो घाटको विषयमा बुझ्ने मौका पाइयो । नेपालमा बस्ने कतिलाई सो घाटको विषयमा थाहा पनि नहोला ।

यस घाटमा सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर, ललिता गौरी मन्दिर, गंगा केशव मन्दिर अवस्थित छ । घाटमा अन्य कैयौँ मन्दिर रहे पनि नेपाल सरकार र पुरातत्व विभागले ध्यान नदिँदा केही मन्दिरहरू कब्जा भईसकेको मन्दिरका पूजारी रोहित कुमार ढकालले बताए ।


यस घाटको निर्माण नेपालका तत्कालीन राजा रणबहादुर शाहले गराउन लगाएका थिए । तत्कालीन राजा रणबहादुर शाह सन्यास लिएर काशीस्थित गंगा घाटमै केही वर्ष साधना गरेको पूजारी ढकालले बताए । उनी सन्यासी जीवन बिताउँदै काशीको गंगाघाटसम्म पुगेका थिए । उनी काशीमा ‘स्वामी निर्गुण’को नामले परिचित छन् । केही वर्षको साधनापछि उनैले सन् १७८४ मा घाट निर्माणका साथै मन्दिर निर्माणको कार्य सुरु गर्न लगाएका थिए । यद्यपि मन्दिर निर्माण जारी रहेकै क्रममा मृत्यु भयो । पछि सो घाटमा मन्दिरहरू तथा धर्मशाला निर्माण कार्य तत्कालीन राजा राजेन्द्र्र वीरविक्रम शाहले पूरा गरेका थिए । उनले सन् १८४३ मा ती मन्दिरहरूको निर्माण कार्य पूरा गराउन लगाएका थिए ।

मन्दिर निर्माणका लागि नेपालबाटै काठ तथा कालिगढ लगिएको थियो । काशीमा रहेको सो पशुपतिनाथ महादेवको मन्दिर काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरकै प्रतिकृति रहेको छ । मन्दिरको छेउमै धर्मशाला निर्माण गरिएको छ जसले नेपालको संस्कृतिको झल्को दिन्छ । धर्मशालाको काठबाट बनेको बाल्कनी र झ्यालले भारतको बनारसमा नभई नेपालकै आभाष गराउँछ । ती मन्दिरहरूको जिर्णोद्धार नेपाल सरकारले सन् १९४३ मा पहिलोपटक गरेको थियो ।

पछि मन्दिर तथा घाटको स्वामित्वका लागि विवाद सुरु भएपछि काशी नरेश विभूतिनारायण सिंहले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई स्वामित्व ग्रहण गर्नका लागि पत्र लेखेका थिए । त्यसपछि मात्रै नेपालको पुरातत्व विभागले यस घाटका साथै मन्दिरको रेखदेख गर्दै आइरहेको छ । पुरातत्व विभागले प्रत्येक पाँच वर्षमा यस घाटका लागि संरक्षण समिति चयन गर्दै आइरहेको छ । हाल यस संरक्षण समितिका अध्यक्ष ओमकार नन्द गिरी हुन् ।

सो धर्मशालामा मोक्ष प्राप्तिका लागि नेपालबाटै १८ जना वृद्ध आमाहरू बास बस्दै आइरहेका छन् । ती आमाहरूका लागि सोही मन्दिरले खाना र वासको व्यवस्थापन गर्दै आइरहेको छ । भारतको तीनदिने औपचारिक भ्रमणमा तत्कालीन प्रधानमन्त्री शेरबाहादुर देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा २०७८ चैत २० मा बनारसस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिएको वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका थिए ।

काशी विश्वनाथ मन्दिरमा पूजा अर्चनापछि देउवाले नेपाली तीर्थालुहरूका लागि सो वृद्धाश्रमको शिलान्यास गरेका थिए । तर, नेपाल सरकारको स्वामित्वमा रहेको सम्राजेश्वरी पशुपतिनाथ मन्दिरको व्यवस्थापनतर्फ भने नेपाल सरकारको आँखा जान सकेको छैन ।

यद्यपि भारतको बनारसस्थित नेपालको स्वामित्वमा रहेको सो घाटका कैयौँ मन्दिर तथा जग्गाहरू कब्जामा परे पनि नेपाल सरकारले चासो नदेखाएकोमा पूजारी तथा संरक्षक रोहितकुमार ढकाल चिन्तित छन् । उनी भन्छन् ‘पुरातत्व विभागले नेपाली घाटको केही मन्दिर तथा घाटका जग्गाहरूको संरक्षण गरे पनि बाँकी भूभागको समेत संरक्षणका लागि नेपाल सरकारसँग कुरो गरेर भारत सरकारसँग समन्वय गर्नु आवश्यक छ ।’ उनका अनुसार घाटका माथिल्लो तल्लाहरू नेपाल सरकारकै स्वामित्वमा रहे पनि भुइँतल्ला भने नेपाल सरकारको स्वामित्वमा छैन । सो तल्लाको स्वामित्व ग्रहणका लागि पनि नेपाल सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

यता भारतीय सरकारले विश्वनाथ करिडोर निर्माणअन्तर्गत ललिता घाटको सौन्दर्यीकरण गरेको छ । यो घाटको सौन्दर्यीकरणसँगै यस मन्दिरको समेत कायापलट हुनेमा ढकाल विश्वस्त छन् । उनी भन्छन्, ‘भारत सरकारले ललिता घाटको सौन्दर्यीकरणका लागि ठूलै राशि खर्च गरेको छ, यसले ललिता घाटमा आउने पर्यटकहरूको संख्यामा वृद्धि पक्कै पनि हुनेछ ।’

नेपालमै रहेका यस्ता पुरातात्विक महत्वका मन्दिरहरू समाप्त हुन लाग्दासमेत ध्यान केन्द्रित हुन नसकेको नेपाल सरकारलाई झन् भारतमा रहेको उक्त सम्पदालाई व्यवस्थापन गर्न केको खोज खबर हुनु जनकपुरधामकै पुरातात्विकविद्हरूको गुनासो रहेको छ । नेपालको इतिहास नै बोकेको बाराको सिम्रौनगढमा दैनिक उत्खनन् गरी चोरी निकासी भइरहँदासमेत नेपाल सरकारको नजर त्यसतर्फ पुग्न नसकेको अवस्थामा भारतको चासो के गर्न नै सकिएला । विश्वमा आफनो छुट्टै पहिचान बोकेको हाम्रो मुलुकको गौरबलाई बचाइराख्न सबैभन्दा पहिले नेपाल सरकारलाई इमानदार हुनु अति आवश्यक रहेको सर्वसाधारणको भनाइ रहेको छ ।

प्रतिक्रिया