यसरी सम्भव भयो त्रिविको उपकुलपति नियुक्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधनका क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गरेका थिए । उनले सोही अनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिए ।

खुला प्रतिस्धर्पाका आधारमा त्रिविका उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरिए पनि तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने सर्त राखिएपछि प्रधानमन्त्री दाहालले पुनः सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए । सोही अनुसार नै नियुक्त प्रक्रिया अगाडि बढेको थियो ।

त्रिविले कार्यविधि संशोधन गरेर जारी गरेको सूचनाको आधारमा उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रधानमन्त्री दाहालले सोही अनुसार उपकुलपति नियुक्तिको आधार तयार गर्न कस्ता प्रावधान बनाउने भन्ने विषयमा विज्ञसँग छलफल गरेका थिए ।

छलफलका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनाइएको थियो । सिफारिस समितिले त्रिविको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष चित्रबहादुर बुढाथोकी, प्राडा केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ (२) अनुसार आज प्राडा केशरजंग बराललाई उपकुलपतिमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले तीन जनाको नाम सिफारिस गर्दा ‘मेरिटोक्रेसी’ पालना भए–नभएको बारेमा अध्ययन गरेका थिए । त्यसलगतै शिक्षामन्त्री राई एवं शिक्षा सचिव सुरेश अधिकारीसँग छलफल गरेर बराललाई उपकुलपतिमा नियुक्ति गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।– रासस

प्रतिक्रिया