नालायक बन्दै नेपाली कांग्रेसको नयाँ पुस्ता

नेपाली कांग्रेसको जारी महासमितिको बैठकमा मुख्यतः दुई वटा ‘एजेन्डा’ले बढी चर्चा पाए । त्यसमध्ये एउटा एजेन्डा थियो, ‘नेपाली कांग्रेस धर्मनिरपेक्षतालाई छाडेर हिन्दूराज्य पुनवर्हालीको पक्षमा उभिनुपर्ने ।’ यस्तो गर्दा चुनावमा भोट बढ्ने प्रस्तावक समूहको दावी छ । अर्को एजेन्डा थियो, ‘नेपाली कांग्रेसले अब एक्लै चुनाव लड्ने, अन्य पार्टीसँग तालमेल नगर्ने ।’ यस्तो गर्दा नेपाली कांग्रेसका मतदाता पार्टीप्रति थप प्रतिवद्ध हुने तर्क प्रस्तावकको छ । यी दुवै एजेन्डाका प्रस्तावक नयाँ पुस्ताका युवा नेताहरू छन् । कांग्रेसले हिन्दूराज्यको नीति अवलम्वन गर्नुपर्ने एजेन्डाको अगुवा शंकर भण्डारी हुन् । उनको संयोजकत्वमा महाधिवेशनस्थल परिसरमा हस्ताक्षर अभियान पनि गरियो । हस्ताक्षर गर्ने महासमितिका सदस्यमध्ये अधिकांश युवाहरू छन् । बुढा पुरानाहरू खासै धेरै छैनन् । यसैगरी अन्य पार्टीसँग तालमेल नगरी एक्लै चुनाव लड्नुपर्ने एजेन्डाका प्रस्तावक महामन्त्री गगन थापा हुन् । महामन्त्री थापाले आफ्नो संस्थागत प्रतिवेदनमा समेटेको यो बुँदा आवश्यक नभएको कुरा केन्द्रीय समितिको बैठकमा नउठेको होइन, तर महामन्त्री थापाले यसरी अडान लिए कि, आवश्यक परे मतदानमा समेत लैजाने चेतावनी दिए । २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कुरा प्रस्तावको एउटा बुँदामा र २०८४ सालमा हुने स्थानीय तथा आमनिर्वाचनको रणनीति प्रस्तावको अर्को बुँदामा राखिनु स्वयंमा हास्यास्पद हो । तर, यही हास्यास्पद विषयमा महामन्त्री थापाले चट्टानी अडान लिए । उनका समर्थकहरूले सिठ्ठी फुक्दै ठूलो युद्ध जितेको अनुभूति गरे ।

नेपाली कांग्रेसको विधानअनुसार महासमिति भनेको महाधिवेशन पछिको शक्तिशाली निकाय हो । पार्टीका प्रायः सबै नीति, नियमहरू महाधिवेशनले तयार गर्छ । एउटा महाधिवेशन र अर्को महाधिवेशनको अवधि चार वर्षको हुन्छ । यो चार वर्षको अवधिमा अत्यावश्यक नीति नियम तर्जुमा गर्नुप¥यो भने मात्रै महासमितिमा लगिन्छ । अब कांग्रेसको महाधिवेशन आउन दुई वर्ष बाँकी छ । तर स्थानीय तथा आमनिर्वाचन आउन चार वर्ष बाँकी छ । चार वर्षपछि आउने चुनावका लागि रणनीति बनाउने भनेको दुई वर्षपछि हुने १५औँ महाधिवेशन तथा त्यो महाधिवेशनद्वारा निर्वाचित कार्यासमितिले हो । त्यसैले एक्लै चुनाव लड्नुपर्ने एजेन्डा तय गर्दै त्यसमा चट्टानी अडान लिनु भनेको क्षणिक लोकप्रियताको तीर्खा हो । महामन्त्रीलाई पार्टीको भावी नेताका रूपमा लिने गरिन्छ । केही अपवादबाहेक महामन्त्रीको अनुभव संगालेका नेता नै कांग्रेसको पार्टी सभापति निर्वाचित भएका छन् । वर्तमान महामन्त्री थापालाई पनि भावी सभापतिका रूपमा धेरैले हेरेका छन् । तर, सस्तो लोकप्रियताका लागि अनेकथरी स्टन्टबाजी गर्ने कर्ममै उनी सीमित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको स्टन्टबाजी र कांग्रेस महामन्त्री थापाको स्टन्टबाजीमा खासै भिन्नता नदेखिएको टीकाटिप्पणी हुन थालेको छ ।

स्थापनाकाल ताका तत्कालीन राणा शासकहरूले नेपाली कांग्रेसमाथि लगाउने मुख्य आरोप थियो, ‘धर्मछाडा पार्टी ।’ आफ्नो शासन सत्ता ढल्यो भने नेपाली कांग्रेस हावी हुन्छ र नेपाली कांग्रेसले जाती–धर्म संस्कृति केही पनि मान्दैन भन्दै राणा शासकहरूले प्रचार गरेका थिए । यतिसम्मकी २०१५ सालको आमनिर्वाचनमा राणाहरूको पार्टी गोर्खा परिषद्ले कांग्रेसलाई धर्मछाडा पार्टीको आरोप लगाएर आफ्नो पक्षमा भोट मागेको थियो । बिपी कोइरालाले आफ्नो आत्मवृतान्तमा भनेका छन्, ‘गुल्मीको रिडीमा आमसभाको आयोजना गरिएको थियो । स्थानीय केही साथीहरूले कांग्रेसलाई धर्मछाडाको पार्टी भन्ने आरोप लगाउँदै गोर्खा परिषद्ले प्रचार गरेको छ, जनता भड्किएका छन्, त्यसैले तपाईंले धर्म संस्कृति तथा रीतिरिवाजको पक्षमा कांग्रेस छ भनेर भाषण गरिदिनुपर्यो भने । तर, मैले भाषण गर्दा गर्दै आफ्नो जनै फुकालेर कालीगण्डकीमा बगाउन लगाइदिएँ । केही साथीहरूले ल बरबाद भयो, जनताले भोट नदिने भए भन्न थाले । तर त्यही निर्वाचन क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी मत अन्तरले चुनाव जित्यो । सुवर्णजीको निर्वाचन क्षेत्र थियो त्यो । आफ्नो निर्वाचन क्षेत्रमा पाइलै नटेकी सुवर्णजीले चुनाव जित्नुभयो ।’

आजभन्दा ६५ वर्षअघि बिपी कोइरालाले आमसभाको सामुन्ने आफ्नो जनै झिकेर नदीमा बगाउँदा कांग्रेसका अहिलेको नयाँ पुस्ताका युवा नेतामध्ये कतिपयका बाबु आमासमेत केटाकेटी थिए होलान् । तर, आज कांग्रेसका युवा नेताहरूलाई राणाकालको त्यो भुतले तर्साएको छ । हिन्दूराज्यको नीति नबोके कांग्रेस समाप्त हुने निचोडमा युवा नेता पुग्नुभनेको कांग्रेस साँच्चैकै समाप्तीको दिशामा हो कि ? भन्ने संकेत हो । मनको इशारामा चल्ने कम्युटर प्रयोगमा आइसकेको यो युगमा कुनै धर्मको एजेन्डा अघि सारेर राजनीति गर्ने व्यक्तिहरू देखापर्नु भनेको सामान्य अधोगति होइन ।

प्रतिक्रिया