मधेस प्रदेशमा सूचना एवं सञ्चारको स्थिति

मधेसका सञ्चार संस्थाहरूमा निष्पक्षताको कमी देखिएको छ । सञ्चार संस्थाहरू कुनै न कुनै राजनीतिक दल वा नेताहरूको नजिक रहेको पाइन्छ । कतिपय नेताहरूले ‘साइबर सेना’ नै नियुक्त गरेको सुनिएको छ ।

विश्वराज अधिकारी

नेपालमा सूचना एवं सञ्चारको स्थिति नराम्रो भने होइन । स्थिति राम्रो हो तर जस्तो स्थिति हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन । जुन गतिमा यस क्षेत्रको विकास हुनुपथ्र्यो त्यो गतिमा विकास भएको छैन । विकासको गति अति नै सुस्त छ । २०४७ सालमा भएको राजनीतिक परिवर्तनले नेपालमा सूचना तथा सञ्चारको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको भने अवश्य हो । २०४७ पहिले सूचना तथा सञ्चार क्षेत्रमा पञ्च शासकहरूको एक किसिमको पूर्ण नियन्त्रण थियो । त्यतिबेला पञ्च शासक तथा पञ्च नेताहरूले सोचेको र चाहेका खबर, विचार, जानकारी मात्र प्रकाशन तथा प्रसारण हुन्थे । उनीहरूले नियन्त्रणकारी उद्देश्यका साथ प्रकाशन एवं प्रसारण गृहहरूको विस्तार हुन दिएका थिएनन् ।

२०४७ सालमा भएको राजनीतिक परिवर्तनले नेपालको सूचना एवं सञ्चारको जगतमा ठूलो परिवर्तन ल्यायो । लेखक र प्रकाशकहरूले स्वतन्त्र भएर लेख्न र प्रकाशन गर्न पाए । कुनै किसिमको नियन्त्रणको सामना गर्नु परेन । अनेक एफएम रेडियो स्टेसनहरूको स्थापना भए । पत्रपत्रिकाहरूको संख्यामा व्यापक वृद्धि भयो । निजी क्षेत्रबाट अनेक टेलिभिजन संस्थाहरूको स्थापना पनि भयो ।

२०४७ सालको राजनीति परिवर्तनले सूचना तथा सञ्चार क्षेत्रको विकासमा ठूलो योगदान पुर्यायो । तर, यो विकास केवल काठमाडौंमा केन्द्रित हुन पुग्यो । काठमाडौं बाहिर, मुख्य गरी पहाडी एवं तराई क्षेत्रमा सूचना एवं सञ्चार क्षेत्रमा सोचे जतिको विकास हुन सकेन ।
पहाडी एवं तराई क्षेत्रमा सूचना एवं सञ्चारको स्थिति उत्साहप्रद नहुनुका अनेक कारणहरू छन् ।

मधेसमा अहिले पनि पत्रपत्रिका पढ्नुपर्छ, रेडियो सुन्नुपर्छ र उपयोगी कार्यक्रमहरू टेलिभिजनमा हेर्नुपर्छ भन्ने सोचाइ छ । काठमाडौंमा भने यस्तो स्थिति छैन । काठमाडौंमा, पञ्चायतकालमा पनि, सञ्चार क्षेत्रमा ठूलो नियन्त्रण भएता पनि, सडक, पेटीमा पत्रपत्रिकाहरू बिक्री भएको देख्न सकिन्थ्यो । बजार क्षेत्रमा मुख्य गरी नयाँ सडकमा बिक्रेताहरूले पत्रपत्रिका बिक्री गरेको देख्न सकिन्थ्यो ।

मधेसको स्थिति भने पृथक छ । सूचना एवं जानकारीलाई महत्व दिने खासै चलन छैन । पत्रपत्रिकारहरू खरिद गरेर पढ्नुपर्छ भन्ने सोच कमै छ । सार्वजनिक रूपमा सञ्चालित सञ्चार गृहहरूलाई आर्थिक सहयोग गर्नुपर्छ भन्ने सोच आर्थिक रूपमा बलियो हुने व्यक्तिहरूमा पनि छैन ।

पत्रपत्रिकाहरू बढी बिक्री हुनका लागि पाठकहरूको क्रयशक्ति बलियो हुन आवश्यक छ । मधेसमा बहुसंख्यक व्यक्तिहरूको क्रयशक्ति ज्यादै कमजोर छ । कतिपयको क्रयशक्ति यति कमजोर छ कि उनीहरूले पत्रपत्रिकाहरू खरिद गरेर पढ्न सक्ने स्थिति छैन ।

मधेसमा व्यापारिक गतिविधि ज्यादै सुस्त छ । व्यापारिक गतिविधि सुस्त हुनु सञ्चार गृहहरूको लागि राम्रो अवस्था होइन । व्यापारिक गतिविधिहरू ठूलो मात्रामा भएमा त्यसको सकारात्मक असर सञ्चार जगतमा पनि पर्छ । व्यापारिक संघ, संस्थाहरूको आर्थिक स्थिति राम्रो भएमा उनीहरू आफ्नो व्यापारको विज्ञापन गर्न सक्छन् । विज्ञापनमा राम्रो रकम खर्च गर्न सक्छन् । व्यापारीहरूले विज्ञापनमा बढी खर्च गर्नुको अर्थ सञ्चार गृहहरूको आम्दानीमा वृद्धि हुनु हो । सञ्चार गृहहरूको आर्थिक स्थिति राम्रो भएमा मात्र उनीहरूले दीर्घजीवन पाउँछन् । नेपालमा सञ्चार गृहहरू बन्द हुनुको प्रमुख कारण अर्थ अभाव हो । संक्षेपमा के भन्न सकिन्छ भने जुन क्षेत्रमा जति बढी ब्यापार हुन्छ, उद्योगहरू ठूलो संख्यामा सञ्चालित हुन्छन, सोहीअनुसार त्यस क्षेत्रमा सूचना र जानकारीको स्थिति राम्रो हुन्छ । सञ्चार गृहहरूले दीर्घजीवन पाउने स्थिति निर्माण हुन्छ ।

मधेसमा सञ्चार गृहहरूको स्थिति राम्रो नहुनुको अर्काे महत्वपूर्ण कारण सञ्चार गृहहरूले प्रकाशन र प्रसारण गर्ने सामग्रीहरूलाई पाठकहरूको जीवनसँग जोड्न नसक्नु हो । सञ्चार गृहहरूले प्रकाशन एवं प्रसारण गर्ने सामग्रीहरू मध्ये अत्यधिक सामग्री केवल राजनीतिसँग जोडिएका हुन्छन् । नेताहरूका भाषणहरूको बारेमा लेखिएका हुन्छन् । दलहरूबीच भएको झगडालाई खबरको रूप दिइएको हुन्छ । नेताहरूबीच भएको झगडा महत्वपूर्ण समाचार बनेको हुन्छ । सत्ताका लागि दलहरूले गरेका षड्यन्त्रहरू समाचार वा विचार बनेर पत्रपत्रिकामा आएका हुन्छन् । रेडियो र टेलिभिजनले पनि यस्तै विषयहरूलाई महत्व दिएका हुन्छन् ।

देशको राजनीतिलाई सञ्चार गृहहरूले महत्व दिनुपर्छ तर यसलाई नै सञ्चारको मुख्य उद्देश्य बनाउनु हुँदैन । कुनै एक पाठकले देशको राजनीतिबारे थाहा पाएमा उसको केवल जानकारीको भण्डारमा वृद्धि हुन्छ तर आर्थिक रूपमा उसलाई कुनै फाइदा हुँदैन । त्यो जानकारीले उसको आर्थिक जीवनमा कुनै पनि किसिमको फाइदा पुर्याउँदैन ।

काठमाडौंमा होस् वा मधेसमा सञ्चार गृहहरूले पाठकहरूको पठन रुचिमा नै अनौठो परिवर्तन ल्याइदिएका छन् । पाठकहरूको मनोवृत्ति नै खराब पारिदिएका छन् । सञ्चार गृहहरूले जहिले पनि नेताहरूको झगडा, षडयन्त्र, दाउपेच बिक्री (प्रकाशन र प्रसारण) गर्ने हुनाले पाठकहरूमा पनि नेताहरूको झगडा, षड्यन्त्र, दाउपेच खरिद (पढ्ने, हेर्ने वा सुन्ने) गर्ने बानी परेको छ । सकारात्मक सोच, विचार आदि असल समाचार होइन भन्ने मनोवृत्तिको निर्माण पाठकहरूमा भएको छ । यस्तो स्थिति ज्यादै दुःखद् हो । यो स्थिति सञ्चार गृह र पाठक दुबैका लागि राम्रो होइन ।
सञ्चार जगतले प्रकाशन र प्रसारण गर्ने समाचार, विचार वा कुनै पनि किसिमले सामग्रीले पाठकको जीवनमा सकारात्मक प्रभाव पार्नुपर्छ । आफ्ना सामाग्रीहरूद्वारा पाठकको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य सञ्चार गृहहरूले राख्नुपर्छ । आफूले प्रसारण गरेको सामग्रीले पाठकमा कुनै खास किसिमको सीपको विकास होस्, आय आर्जन गर्ने ज्ञान प्राप्त होस्, स्वरोजगार हुने क्षमता अभिवृद्धि होस् भन्ने लक्ष्य सञ्चार गृहहरूले राख्नुपर्छ । केवल मुनाफा मात्रै देख्ने प्रवृत्ति सञ्चार संस्थाहरूले राख्नु हुँदैन ।

सूचना एवं जानकारीको प्रसारणमा निजी क्षेत्रले भन्दा सामुदायिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । तर मधेसमा स्थिति विपरीत छ । सञ्चारमा सामुदायिक क्षेत्रको उपस्थिति नगण्य बराबर छ । सामुदायिक क्षेत्रको सक्रियता बढेमा पाठक, दर्शक, स्रोता आदिले उचित र उपयोगी सूचना एवं जानकारी पाउने बलियो वातावरण तयार हुन्छ । व्यापारिक संस्थाहरूको अधिक उपस्थितिले भने पाठकहरूलाई खासै फाइदा हुँदैन । व्यापारिक संस्थाहरू अत्यधिक मुनाफा गर्ने उद्देश्यका साथ सञ्चार जगतमा आएका हुन्छन् ।

नेपालको सञ्चार जगतमा एउटा अति नै दुःखद् स्थिति देखिएको छ, त्यो हो निष्पक्षता । यो स्थिति केन्द्रमा पनि छ तर मधेसमा बढी नै छ । सञ्चार संस्थाहरू निष्पक्ष हुनुपर्छ । जनउपयोगी समाचार, विचार, जानकारी पुर्याउने कार्यलाई प्रमुख कर्तव्यको रूपमा लिनुपर्छ । मधेसका सञ्चार संस्थाहरूमा निष्पक्षताको कमी देखिएको छ । सञ्चार संस्थाहरू कुनै न कुनै राजनीतिक दल वा नेताहरूको नजिक रहेको पाइन्छ । कतिपय नेताहरूले ‘साइबर सेना’ नै नियुक्त गरेको सुनिएको छ ।

सञ्चार गृहहरूले आफ्ना सामग्रीहरू निष्पक्ष र पाठकहरूका लागि जीवन उपयोगी नपारेसम्म स्वयं सञ्चार गृहहरूले आफ्नो भविष्य सुरक्षित पार्न सक्तैनन् । कुनै दल वा नेताको छत्रछाया पाएर दुई–चार वर्ष सञ्चार जगतमा रहनु बेग्लै कुरा हो तर यदि लामो समय सञ्चार क्षेत्रमा उपस्थिति रहने हो भने सञ्चार संस्था निष्पक्ष र पाठकप्रति उत्तरदायी हुन आवश्यक छ ।

सञ्चार क्षेत्र अन्य व्यापारिक संस्थाजस्तो होइन । अन्य व्यापारिक संस्थाहरूले गलत सामाना बिक्री गरेर, गलत तरिकाबाट मुनाफा कमाउन सक्छन् । तर, सञ्चार संस्थाहरूले गलत समाचार, गलत विचार बिक्री गरेर पैसा कमाउनु हुँदैन । किनभने संचार संस्था र यस सम्बद्ध व्यक्तिहरूको समाजप्रति जिम्मेवारी ठूलो हुन्छ ।

सञ्चार संस्थाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । सञ्चार गृहहरूले प्रकाशन, प्रसारण गरेका सामग्रीहरूको आधारमा नै लाखौँ पाठकहरूले एक खास किसिमको विचार निर्माण गरेका हुन्छन् । यस अर्थमा सञ्चार संस्थाहरू विचार निर्माणकर्ताहरू हुन । यो सोचाइको अभाव छ, मधेस प्रदेशमा ।

प्रतिक्रिया