नाफामा प्रतिस्थापन कला

काठमाडौं । प्रकृति संरक्षणमा ध्यान दिनुपर्ने विषयमा केन्द्रित रही रचना गरिएका प्रतिस्थापन कलाको प्रदर्शनी सुरु भएको छ । बिहीबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एम क्युबको सहकार्यमा ‘प्र–कृति : प्रतिस्थापन कला प्रदर्शनी २०८०’ को उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले गरे ।

नक्सालस्थित प्रतिष्ठान परिसरमा आयोजित प्रदर्शनीमा कलाकार सागर मानन्धर, सुशिला सिंह, मीना कायस्थ, विनय रिमाल, सुशान्त श्री राजभण्डारीका कला समावेश गरिएको छ । यस्तै, अतिथि कलाकारका रूपमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य सौरगंगा दर्शनधारी र ग्यालरी एम.क्युबका संस्थापक मनिषलाल श्रेष्ठका कलाकृति प्रदर्शनीमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री साउँदले आफू कलाको पारखी नै भएता पनि यस किसिमको कला अवलोकन गरेको पहिलो अनुभव भएको सुनाए । उनले अहिले प्रकृति र मान्छेबिच द्वन्द्व चलिरहेको बताउँदै मानिसले प्रकृतिको विनाश गरिरहेको र त्यसैगरी प्रकृतिले पनि विभिन्न प्राकृतिक विपत्तिहरूको माध्यमबाट मानिसलाई सजाय दिइरहेको उदाहरण दिए ।

उनले वातावरण संरक्षणप्रति कलाकारले कलामार्फत देखाएको सचेतना निकै सराहनीय कार्य भएको बताए । मन्त्री साउँदले सुदूरपश्चिम प्रदेश पनि कलामा धनी रहेको र कलाका गतिविधि प्रदेशमा सञ्चालन गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै प्रतिष्ठानको गतिविधिमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै प्रतिस्थापन कलाको महत्वमाथि प्रकाश पारेका थिए । उनले कलामार्फत कलाकारले प्रकृति र संस्कृतिको विषयलाई कलात्मक ढंगले उधिनेको विचार व्यक्त गरे । विभागीय प्रमुख सौरगंगा दर्शनधारीले प्रकृतिलाई विशेष प्राथमिकतामा राखी प्रकृतिकै काखमा रमाएर दुई साता अघिदेखि कला सिर्जना गरिएको बताइन् । उनले कलाकारले प्रकृतिको सामीप्यतामा रहेका कला सिर्जना गरेको सुनाउँदै प्रदर्शनी फागुन ३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने जानकारी दिइन् । उनले प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धलाई देखाउन यो कार्यक्रम आयोजना गरिएको सुनाइन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिस्थापन कला भनेकै बहुमाध्यमहरूको प्रयोगबाट विभिन्न भावहरूलाई प्रस्तुत गर्ने कला भएको बताए । उनले प्राकृतिक वस्तुहरूको प्रयोगबाट प्रकृतिसँगको सम्बन्धलाई अत्यन्त सुन्दर ढङ्गले कलाकारहरूले प्रस्तुत गरेको सुनाए । हार्तम्छालीले कुनै पनि वस्तु स्वयंले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्ने र फरक–फरक वस्तुलाई फरक फरक भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुने बताउँदै सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा उठान गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला अभिव्यक्तिको सशक्त माध्यम भएकाले कलाकारले सिर्जना शक्तिमार्फत प्रकृतिको विषयलाई उठान गरेको विचार व्यक्त गरे ।

कुलपति हार्तम्छालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य प्रदिप शाक्य, जनसांस्कृतिक महासंघका कार्यवाहक अध्यक्ष भिम कुमाखी, कोषाध्यक्ष विमला केसी, जनगायक धनु ग्याङ्मी, प्राज्ञ तथा मूर्तिकार ओम खत्री, लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया