काठमाडौं । ‘द पोएट आइडल’ सिजन २ टेलिभिजन रियालिटी सो आगामी सोमबारदेखि प्रसारण हुने भएको छ । हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमा राती ९ बजे प्रसारण हुने कार्यक्रमका बारेमा शुक्रबार आयोजित प्रायोजक घोषणा कार्यक्रममा मिति र समयबारे जानकारी दिइएको हो । सो प्रत्येक सोमबार र मंगलबार प्रसारण हुनेछ । सो अवसरमा निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने सोको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी निर्णायकको रुपमा रहने छन् । यस्तै, अन्य तीन निर्णायकमा पहिलो सिजन कै दोहोरिने जनाइएको छ । अभिनेत्री अधिकारी कविताको निर्णायक रहेको विषय सामाजिक सञ्जालमा उठिरहेको प्रसंगलाई निर्देशक र अधिकारीले खण्डन गरेका थिए ।
अभिनेत्री केकीले चलचित्र अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने विचार व्यक्त गरिन् । उनले सबैको धारणालाई सम्मान गर्ने जनाउँदै कविताप्रति आफ्नो सानैदेखि रुचि रहेको बताइन् । उनले भनिन्, ‘मलाई यहाँ गरिएको प्रश्न जस्तै सुरुमा निर्देशक अमनदाईलाई गरेकी थिएँ । म नै जज् किन भनेर । उहाँहरुले दर्शकको प्रतिनिधित्व गर्ने महिला जज् चाहिएको बताउनुभयो । म कला क्षेत्रमा किन छु भन्दा, यहाँ आफूलाई लागेको कुरा मजाले अभिव्यक्त गर्न सकिन्छ । म ओपनियनलाई एकदमै शिरोधार्य गर्न सक्ने व्यक्ति पनि हुँ ।’ केकीले साहित्यप्रति आफ्नो पनि जिम्मेवारी रहेको सुनाइन् ।
उनले भनिन्, ‘यो रियालिटी सोलाई विभिन्न कुराको विश्लेषण गर्न सक्ने व्यक्ति चाहिएको कारणले हो भनेपछि मैले थप गर्न जरुरी भएन । मैले चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिरहेकी छु जसले गर्दा कला साहित्यप्रति मेरो पनि जिम्मेवारी छ ।’ यस्तै, निर्देशक अधिकारीले केकीलाई अब्बल अभिनेत्रीको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्नसक्ने जिकिर गरे । निर्देशन अधिकारीले भने, ‘यो सो लेखनमा मात्र आधारित सो होइन । केकी अब्बल नायिका हुन् ।’ उनले केकीले गर्ने क्यारेक्टर र अभिनयबाट आफूहरु तानिएको बताए ।
आयोजकले सोको कुल एपिसोड फिनालेलाई छाडेर ३० हुने जानकारी दियो । यसपटकको सिजन २ मा निर्णायकमा अभिनेत्री केकीसँगै कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल रहने छन् । यसैगरी, कार्यक्रम सञ्चालकका रुपमा दिव्यदेव रहने छन् । आयोजकले सोको बिजेतालाई नगद १० लाख रुपैंयाँसहित एक पुस्तक सार्वजनिक गरिदिने जनाएको छ ।
प्रतिक्रिया