बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतनबहादुर सिंहले महिलाहरुले पनि पुरुष सरह आत्मनिर्भर बन्न सिक्नुपर्ने बताएका छन् । बिहीबार एक कार्यक्रमकाबीच जयपृथ्वी नगरपालिका महिला विकास समितिको आयोजनामा सञ्चालित तीनमहिने सिलाई–कटाई तालिमको उद्घाटन समारोहमा बोल्दै उपप्रमुख सिंहले यस्तो बताएका हुन् ।
नगर उपप्रमुख सिंहले भने, ‘यसभन्दा पहिला पनि नगरपालिका महिला विकास समितिको आयोजनामा घरमै बस्ने लोकसेवा तयारी गर्नबाट वन्चित महिला दिदिबहिनीहरुका लागि लोकसेवा तयारी कक्षाको आयोजना गरेका थियौँ, फेरि पनि महिला दिदिबहिनीहरुले सीप हासील गर्न सकुन् र घरमै बसीबसी केही आर्थिक स्रोत जुटाउन सकुन् भन्ने उदेश्यका यो कार्यक्रम गरिएको हो ।’
साथै उनले पालिकाभित्र रहेका ११ वटा वडाहरुवाट आर्थिक अवस्था कमजोर भएका, केही ज्ञान सीप गर्न चाहने र सीप सिकेर केही गर्छु भन्ने सोच भएकाहरुलाई वडाबाट छनोट गरी ११ जनालाई सिलाई–कटाई तालिमको आयोजना गरेको र तालिम सिकीसकेपछि केही दक्षता हासिल गर्ने विश्वास लिएको बताए ।
घर धन्दामा सीमित महिलाहरुलाई व्यावसायीक तर्फ लैजान र महिलाहरुको ज्ञान, सीप र दक्षताको विकास गर्न महिला विकास समितिले तीन महिने सिलाई–कटाई तालिमको आयोजना गरेको र तालिम सकिएपछि सिलाई मेसिनका सामग्रीहरु पनि हस्तान्तरण गरिने हुँदा घरमै बसी आर्थिक जुटाउन सकिने जयपृथ्वी नगरपालिका महिला विकास समितिकी उपाध्यक्ष कल्पना चौहान कठायतले बताइन् ।
विशेश गरी घरमै बसेका तर अवसर पाउनबाट वन्चित भएका महिलाहरुको लागि यो तालिम महत्वपूर्ण भएको हुँदा तालिमको समय अवधिभर मेहनतका साथ सिक्नुपर्ने तथा तालिम अवधिभर सिकिसकेका कुराहरु व्यवहारमा उतारी घरमै बसीबसी आफैले रोजगारी सिर्जना गर्न सके महिला विकास समितिले लिएको लक्ष्य पूरा हुने जयपृथ्वी नगरपालिका महिला विकास समितिकी अध्यक्ष रमा जोशीले बताइन् ।
बझाङ
प्रतिक्रिया