चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको संख्या निकै धेरै

चितवन । शिक्षित जिल्लाकारुपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको संख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् ।

मुख्य गरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएर गएको छ महिनामा छ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका छन् । उनीहरूमध्ये दक्ष प्रसूतिकर्मीबाट दुई सय १२ जनाले बच्चा जन्माएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

उनका अनुसार दक्ष स्वास्थ्यकर्मीबाट चार सय २३ र घरमा ९ जनाले बच्चा जन्माएका हुन् । ढकालका अनुसार चालु आर्थिक वर्षमा सात हजार एक सय १९ आमाले बच्चा जन्माएको भएपनि छ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका हुन् । स्वास्थ्यको तालिका (प्रोटोकल) अनुसार आठ पटक स्वास्थ्य परीक्षण गर्न आउने कम उमेरका गर्भवती आमाहरुमा पाँच सय २९ रहेको कार्यालयलको तथ्यांकले देखाएको छ ।

पहिलो हप्तामा एक हजार एक सय ७६, १२ हप्तामा आठ सय ११ र २६ हप्तासम्म परीक्षण गर्ने नौ सय ३८ गर्भवती आमा स्वास्थ्य परीक्षणका लागि आएका जनाइएको छ । नेपालको कानुनले वैवाहिक उमेरका लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम भने नरोकिएको कार्यालयले जनाएको छ । ढकालका अनुसार ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम रोकिएको छैन ।

समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने उनले बताइन् । उनले भनिन्, ‘विशेष गरी जिल्लाको पहाडी क्षेत्रमा सानै उमेरमा आमा बन्ने गरेका छन् ।’ विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उनले बताइन् ।– रासस

प्रतिक्रिया