इलाम नगरसभाबाट कृषि ऐन पारित, एक ऐन र मापदण्ड संशोधन

इलाम । इलामको इलाम नगरपालिकाको १४औँ नगरसभाबाट कृषि ऐन, २०८० ऐन पारित गरेको छ । शनिबार सम्पन्न नगरसभाले कृषि ऐन पारित गर्नुका साथै विनियोजन ऐन २०८० को पहिलो संशोधन र विकास निर्माण मापदण्ड २०६४ को पाँचौँ संशोधन पारित गरेको छ । इलाम नगरपालिकाको कृषिको विकास, आधुनिकीकरण र व्यावसायीकरणका लागि इलाम नगरपालिकाले जिल्लामा पहिलोपटक कृषि ऐन पारित गरेको इलाम नगर प्रवक्ता नुतनदेव दुलाले जानकारी दिए ।

नगरसभाबाट पारित ऐन एक साताभित्र प्रमाणीकरण गरेर इलाम नगरपालिकाको राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएपछि ऐन लागू हुनेछ । नगरप्रमुख केदार थापाको अध्यक्षतामा भएको सभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो । नगरप्रमुख थापाले इलाम नगरपालिकालाई रूपान्तरणको बाटोमा लैजाने प्रतिवद्धता गरी विभिन्न ऐन र निर्णय पारित गरिएको बताए । ‘नगरसभामा हामीले अहिलेसम्मको विकास निर्माणको समीक्षा गर्दै आगामी दिनमा नगरपालिकालाई सम्मुनत र समृद्ध बनाउने गरी सामूहिक रूपमा लाग्ने प्रतिवद्धता जनाएका छौँ’, नगरप्रमुख थापाले भने, ‘त्यसका लागि समसामयिक विशेष प्रस्तावसमेत पारित गरेका छौँ ।’

नगरसभाले विभिन्न विषयगत समिति र सेवा अन्तर्गत सम्पन्न भएका योजनाहरूलाई अनुमोदन गर्दै छुटेका बजेट थप गर्ने अधिकार नगर कार्यापालिकालाई दिएको छ । त्यसैगरी नगरसभाले समसामयिक विषयमा चार बुँदे विशेष प्रस्ताव पारित गरेको छ । इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्याको समाधानका लागि कोसी प्रदेश सरकार र नेपाल सरकारमा अनुरोध गर्ने, इलाम नगरपालिकाअन्तर्गतका सात वटा गौरवका आयोजनामको डिपिआर गर्न कोसी प्रदेश सरकार र नेपाल सरकारमा समेत अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरको छ ।

त्यस्तै, इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा हवाई उडान नियमित, सुरक्षित र पर्यटन प्रवद्र्धक सेवाका रूपमा सुचारु तुल्याउन विमानस्थलको आवश्यक भौतिक पूर्वाधारलगायत पहुँच मार्गको स्तरोन्नतिका लागि नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने र इलाम नगरपालिका–१ मा निर्माणाधीन कृषि अनुसन्धान केन्द्रका लागि आवश्यक पूर्वाधार संरचना, बजेट र कार्यक्रमको व्यवस्थापन गर्न कोसी प्रदेश सरकार र नेपाल सरकारमा अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरको छ ।

प्रतिक्रिया