मगरले राज्य गरेको दरबार प्रवर्द्धन गर्दै स्थानीय

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ, गलेखामकोट । कन्टारबाट साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

व्यास नगरपालिका–६ मा अवस्थित गलेखामकोट सदरमुकामबाट १५ किलोमिटर दुरीमा छ । कुनै बेला मगर जातिका राजाले समेत राज्य गरेको यस ठाउँलाईको प्रवद्र्धनमा स्थानीय जुटेका छन् । गलेखामकोटमा मगर राजाले शासन गरेको र अन्तिम राजा चक्रधर राना रहेको गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठको भनाइ छ । उनले भने, ‘धार्मिक तथा पर्यटकीय हिसाबले यो प्रचुर सम्भावना भएको स्थान भए पनि आवश्यक प्रचारप्रसार नहुँदा ओझेलमा परेको महसुस भएको छ । यस ठाउँको विकास र प्रवद्र्धनका लागि स्थानीय जुटेका छन् ।’

यहाँका तत्कालीन मगर राजाले तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको किंवदन्ती छ । पछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ । यो क्षेत्र पर्यटकीय हिसाबले अन्त्यन्त आकर्षक र तनहुँको तेस्रो अग्लो पहाडको रूपमा परिचित रहेको श्रेष्ठले बताए । यहाँबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकास्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।

स्थानीय मुनिराज गुरुङ प्रचुर सम्भावना बोकेर पनि यस ठाउँको विकास हुन नसकेको बताउँछन् । उनले भने, ‘यहाँबाट देखिने मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ, तर यस ठाउँको पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन । हामी अब यसको प्रवद्र्धनमा जुटेका छाँै ।’ उनले पछिल्लो समय यहाँ शनिबार र बिदाका दिन फाट्टफुट्ट आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको बताए ।
गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । गलेखामकोटमा भ्यूटावरसमेत बनेको छ । यहाँ २०७६ सालमा १६ लाख ५० हजारको लागतमा भ्यूटावर निर्माण भएको थियो । तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्छ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण, मनास्लु लगायतको हिमशृंखला देख्न सकिन्छ ।

समुद्र सतहबाट २ हजार २ सय ७ मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे–चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँमा बेला विशेष पूजाआजा हुने गरेको छ । बडादसैँको नवमीको दिन मन्दिरमा पञ्चबलि दिने प्रचलन रहेको स्थानीय मनिता गुरुङले जानकारी दिइन् । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रूपमा काम गर्दै आएका छन् ।

यस ठाउँमा राजाको पालामा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षितरूपमा राखिएको छ । गलेखामकोटको प्रवद्र्धन र विकासका लागि नगरपालिकाले पहल थालेको वडाध्यक्ष जीवन गुरुङले बताए । उनले भने, ‘गलेखामकोट ऐतिहासिकस्थल पनि हो । यसको विकासमा नगरपालिका योजनासहित अगाडि बढ्छ ।’

प्रतिक्रिया