यस्तो छ धार्मिक स्थल सीता भासिएको स्थान ‘सीता पातल’ को डकुमेन्ट्री

काठमाडौं । गायिका कला रेश्मी महतोले ऐतिहासिक धार्मिक स्थल सीता माता भासिएको स्थानको डकुमेन्ट्री ‘सीता पातल’ ल्याएकी छन् । सीता पातल डकुमेन्ट्रीमा सीता भासिएको स्थल र भगवान् राम र सीताको बारेमा वास्तविक कथा प्रस्तुत गरिएको गायिका महतोले जानकारी दिइन् ।

उक्त डकुमेन्ट्रीमा विभिन्न ऐतिहासिक स्थलहरुलगायत ज्ञानवर्द्धक, धार्मिक कुराहरु कैद गरिएको उनको भनाइ छ । सीता पातलमा हालसम्म कुनै पनि नेताहरु नपुगेको र यस्तो नेपालकै ऐतिहासिक स्थललाई नेपाल सरकार र सम्बन्धित निकायले संरक्षण र विकास गर्न चासो नदेखाएको स्थानीयवासी तथा पूजारीको गुनासो रहेको गायिका महतोले बताइन् ।

त्यस स्थानमा प्रत्यक वर्ष राम नवमीको दिन वार्षिकोत्सवसँगै पूजापाठ गर्ने, भजन गर्ने गरिन्छ । नवलपरासीको बर्दघाट त्रिवेणी चोकबाट दक्षीणतर्फ नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जभित्र माडी नगरपालिका– १ मा सीतामणी भनेर चिनिने सीता पातल स्थलमा पर्दछ । सीता पातल नामक डकुमेन्ट्रीमा सञ्चारकर्मी राजकुमार रायमाझीको कथा तथा निर्देशन रहेको छ भने मन बहादुर पुनले छायांकन र सम्पादन गरेका हुन् । उक्त डकुमेन्ट्रीलाई कला रेश्मी महतो कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भारतमा भएको भए धेरै विकास भइसक्ने तर नेपालमा भएर नेपालका नेताहरु, सरकार तथा सम्बन्धित निकायले चासो नगरेको पूजारीको गुनासो रहेको महतोको भनाइ छ । अब छिट्टै सम्बन्धित निकाय सरकारको ध्यानाकर्षण र विकाससँगै संरक्षण होस् भन्ने पूजारीको माग आफूले सुनेको गायिका महतोले बताइन् । उक्त डकुमेन्ट्रीमा पूजारीले सीता पातलको स्थल अवलोकन गराउँदै यहाँको विशेषताको बारेमा जानकारी गराएका हुन् ।

त्यस ऐतिहासिक स्थलमा कुनै पनि मिडिया र पत्रकार नपुगेको प्रचारप्रसार नगरिदिएको भन्दै पूजारीले गुनासो गरेका छन् । लोपोन्मुख ऐतिहासिक धार्मिक स्थल सीता पातलको प्रचारप्रसार होस् भनेर ‘सीता पातल’ नामक डकुमेन्ट्रीको निर्माण गरिएको निर्माता प्रेम महतोले बताए ।

प्रतिक्रिया