साउदी अरबमा खुल्ने भयो रक्सी पसल

रियाद । साउदी अरबले रक्सी बेच्न दिने भएको छ । रियादमा केही गैर–मुस्लिम आप्रवासी समूहलाई रक्सी बेच्न एउटा पसल खोल्न लागिएको हो । साउदीमा रक्सीको बेचबिखन ७० वर्षमा यो नै पहिलो पटक हुनेछ । यो पसलको ग्राहक सीमित कूटनीतिक कर्मचारी हुने बताइएको छ । पसलले रक्सीको अवैध व्यापार रोक्ने साउदी अधिकारीहरूले बताएका छन् ।

सन् १९५२ मा राजा अब्दुल अजीजका छोराले रक्सीको नशामा एक बेलायती कूटनीतिज्ञको गोली हानेर हत्या गरेका थिए । सो घटना भएपछि सोही वर्ष साउदी अरबले रक्सीमा प्रतिबन्ध लगाएको थियो । रक्सीको यो पसल रियादको कूटनीतिक क्वार्टरमा हुने आफूले हेरेको दस्ताबेजले देखाएको भन्दै समाचार संस्था एएफपी र रोयटर्सले समाचार छापेका छन् । पसल केही हप्तामै खुल्न सक्ने बताइएको छ । तर साउदीले रक्सीको किनबेचमा सीमा तोकेको छ ।

रक्सी किन्न ग्राहकले आफ्नो नाम दर्ता गराउनु पर्नेछ । २१ वर्षभन्दा कम उमेरका व्यक्तिले रक्सी किन्न पाउनेछैन । रक्सी खान चाहने व्यक्ति आफैँ पसलमा जानुपर्नेछ । अरूलाई किन्न पठाउन पाउने छैन । मसिनाभरमा एक व्यक्तिले किन्न पाउने रक्सीमा पनि सीमा तोकिनेछ । अहिलेसम्म कूटनीतिज्ञहरूलाई मात्रै रक्सी बेचिने हो वा आम विदेशीहरूले पनि पाउनेछन् भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया