इलाम । फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका पञ्चबहादुर योङहाङ बुधबार उत्साहित देखिन्थे । स्थानीय सिद्ध किराँत हाङसाम युमा माङहिम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्षसमेत रहेका योङहाङ वडामै योजना सम्झौता भएपछि उत्साहित भएका हुन् ।
विगतमा योजना सम्झौता गर्नकै लागि एक दिन समय खर्चेर गाउँपालिका धाउँदै आएका योङहाङ यसपटक भने घर वडाबाटै योजना सम्झौता भएपछि उत्साहित भएका हुन् । वडाबाटै योजना सम्झौता भएपछि समय र पैसा बचत भएको भन्दै फाकफोकथुमबासी उपभोक्ताहरू उत्साहित भएका हुन् ।
‘विगतमा योजना सम्झौता गर्नका लागि गाउँपालिकाको केन्द्र आमचोकसम्म सचिव र कोषाध्यक्षसहित हामीले दुई÷तीन पटकसम्म धाउनुपर्दथ्यो । गाउँपालिकासम्म जान आउन गाडीभाडा, खाना, खाजालगायतको खर्च व्यक्तिगत रूपमै व्यहोर्नुपर्ने हुन्थ्यो’, अध्यक्ष योङहाङले भने, ‘वडाबाट एकैछिनमा योजना सम्झौता भयो । वडामै योजना सम्झौता गर्न पाउँदा सयमको त बचत भयो नै, पैसाको समेत बचत भएको छ ।’
फाकफोकथुम गाउँपालिका–२ का गणेश खत्रीले पनि पोख्रेल गाउँ–बोहोरा गाउँ–झुल्केधारा–एक्लो गाउँ तिवाखोला–मलामी टहरा–जसे खोल्सा खानेपानी आयोजनाको सम्झौता वडाबाटै गरेका छन् । गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको बताए ।
‘एउटा सानो योजना सम्झौता गर्न समेत एक दिन माया मारेर गाउँपालिका जानु पर्दथ्यो । कहिलेकाँही कुनै कागजातहरू नमिले फर्किएर सिफारिस बनाउन पुनः वडा कार्यालय आउनेजाने झन्झट हुन्थ्यो’, उनले भने, ‘गाउँपालिकाले वडामा नै योजना सम्झौता गर्ने व्यवस्था मिलाएपछि उपभोक्ताको समय र पैसा दुवै बचत भएको छ ।’
फाकफोकथुम गाउँपालिकाले शिविर सञ्चालन गरी वडाबाटै योजना सम्झौता गरेको हो । फाकफोकथुमले पहिलो चरणमा ५ वटा वडामा पुगेर विभिन्न ५३ वटा योजना सम्झौता गरेको योजना शाखा प्रमुख माधव दाहालले जानकारी दिए । उनका शिविरमार्फत वडा–१ मा १० वटा, वडा–४ मा ११ वटा, वडा–५ मा सात वटा, वडा–६ मा १६ वटा र वडा–७ मा नौ वटा योजना सम्झौता भएका छन् । सात वटा वडा रहेको फाकफोकथुमले वडा–३ गाउँपालिकाको कार्यालय भएको र वडा–२ सँगै जोडिएकाले कार्यालयबाटै योजना सम्झौता गरिने उनले बताए ।
फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूको नेतृत्वमा पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहितको कर्मचारीको टोली वडावडामा पुगेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत लिम्बूले साना योजना सम्झौता गर्नसमेत गाउँपालिका पुग्नुपर्ने भएकाले उपभोक्ताले धेरै दुःख पाइरहेकाले उपभोक्ताको सहजताका लागि वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाइएको बताए । ‘ससाना योजनाहरू समेत सम्झौता गर्न उपभोक्ताले गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यता र कतिपयको एकै पटकमा काम नहुँदा धेरै दुःख पाइरहेको पाइयो’, उनले भने, ‘उहाँहरूको सहजताका लागि वडामै योजना सम्झौताको व्यवस्था मिलाइएको हो ।’
यसैबीच फाकफोकथुमले उपभोक्ता समितिका लागि अभिमुखीकरणसमेत सञ्चालन गरेको छ । उपभोक्ता समितिका पदाधिकारीलाई एक दिवसीय अभिमुखीकरण सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताए ।
वडामै पुगेर योजना सम्झौता र अभिमुखीकरणले बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्यूनीकरण गर्न उपभोक्ता समितलाई सहज हुने अपेक्षा गरिएको उनले बताए । फाकफोकथुम गाउँपालिकाले चालु आव २०८०÷०८१ का लागि ५८ करोड ७७ लाख ८८ हजारको बजेट ल्याएको छ ।
इलाम
प्रतिक्रिया