त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट र मार्कसिट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई अनलाइन प्रणालीमा लगेको हो । कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज बनाएको हो । कार्यालयको सेवा सुधार गर्न भन्दै नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि पटक–पटक दबाब र धर्नाका कार्यक्रम गरेका थिए ।

अन्य विद्यार्थी संगठनहरूले समेत त्रिविको परीक्षा सम्बन्धी सेवा सुधार गर्न दबाब दिँदै आएका थिए । कार्यालयको सेवा अनलाइन प्रणालीमा लगेपछि अब मार्कसिट, ट्रान्सक्रिप्टसहितका कागजातका लागि एप्लिकेसन दिन विद्यार्थीहरुले बल्खु धाउनुपर्ने बाध्यता हट्ने देखिएको छ ।

प्रतिक्रिया