धनगढी । डोटीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन् ।
यसअघिको प्रदेश सभाले दुईतिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाको पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन् । सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको औँल्याएका छन् ।
यसैबीच, प्रदेशसभा बैठकमा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सदनमा विधेयक टेबुल गरे । प्रदेश र संघको विपद् व्यवस्थापनसम्बन्धी ऐनबीच देखिएको अन्तर कम गर्न र भाषिक शुद्धताका लागि संशोधन विधेयक ल्याएको उनले बताए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा शून्य समयमा जानकी ऐर बम, प्रकाशबहादुर बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा कार्कीले समसामयिक विषयवस्तुबारे सदनमा बोलेका थिए । (सौस)
प्रतिक्रिया