जीतपुरसिमरामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पालिकाभरिका २० सामुदायिक र १६ निजी गरी ३६ विद्यालयले भाग लिएका छन् । जसअन्तर्गत एथलेटिक्स, भलिबल, फुटबल, कबड्डी, क्रिकेट, तेक्वान्डो लगायतका खेल हुनेछन् ।
वडा–१४ रजघट्टास्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित प्रतियोगिताको पूर्वमन्त्री एवं संघीय सांसद ज्वालाकुमारी साहले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा बोल्दै साहले समाज र राष्ट्र चिनाउने माध्यम खेलकुद भएको बताइन् । उनले स्वास्थ्यसँगै शिक्षाका लागि खेलकुदले महत्वपूर्ण भूूमिका रहेको समेत उल्लेख गरिन् । सांसद साहले भनिन, ‘व्यवहार र खानपानका कारण बालकदेखि वृद्धसम्मलाई व्यायामको आवश्यकता रहेको सन्दर्भमा खेलकुदले शारीरिक व्यायामबारे सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्छ ।’

त्यस्तै उनले जनता माध्यमिक विद्यालयलाई जनताको रूपमा स्थापित गरेर सबै जना मिलेर यो विद्यालयलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नगरप्रमुख राजन पौडेलले प्रतियोगिता सञ्चालन गर्न उपमहानगरपालिकाले १० लाख बजेट विनियोजन गरिएको बताए । जीतपुरसिमरा उपमहानगरपालिकाले खेलकुदमा राम्रै लगानी लगाएको तर त्यो अनुसार हामीले अहिले सफलता प्राप्त गर्न नसकेको बताए ।

माघ १० देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्षभन्दा कम उमेरका विद्यार्थीहरू सहभागी छन् । प्रतियोगिताअन्तर्गत १ सय २४ वटा खेल हुनेछन् । जसमा २ सय ४३ जना छात्रा र ३ सय ३१ जना छात्र गरी ५ सय ७४ जना विद्यार्थीले प्रतियोगितामा भाग लिने शिक्षक राजु अधिकारीले जानकारी दिए ।

रनिङ सिल्ड प्रतियोगिता उद्घाटन समारोहमा संविधानसभा सदस्य मधु शाही, जितपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा–१४ की अध्यक्ष चयन मगर, कार्यपालिका सदस्य प्रभावती पास्वान, प्रलाहद साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया