वडा कार्यालय र लायन्स क्लबको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका– १ र लायन्स क्लबको समन्वयमा वडाका ६ वटा प्राविदेखि माविसम्मको सामुदायिक विद्यालयहरुमा अध्ययनरत ४ सय ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रमका बीच क्लब र वडाको आधा–आधा रकम सहयोगमा ३ लाख २५ हजार बराबरको कपडा विद्यार्थीहरुलाई निःशुल्क उपलब्ध गराइएको हो । वडाको जनचेतना मावि, पञ्चकन्या मावि, सिम भञ्ज्याङ प्रावि, मल्लबी देवी प्रावि, भुपालेस्वर प्रावि, नव जागरण प्रावि गरी ६ वटा विद्यालयका ४६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको तेमाल गाउँपालिका– १ का वडाध्यक्ष इन्द्रबहादुर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि क्याबिनेट सेक्रेटरी लायन गोपिमन श्रेष्ठलले आफूलाई गाउँमा यसरी सहयोग गर्न पाएको र विद्यार्थीहरुमा हौसला प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै भावी दिनमा पनि वडासँग समन्वय गरेर स्वास्थ्य चौकीको भवन निर्माणमा सहयोग गर्ने, विद्यालयको भौतिक संरचनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथि डिपार्टमेन्ट अफिसर लायन मनाकृष्ण श्रेष्ठ लायन्स क्लब अफ काठमाडौँका सभापति ओम बुद्ध अध्यक्ष लायन कान्छामान तामाङ, अतिथि जोन चिएरपर्सन लायन जोइली सिलवाल, अतिथि लायन्स जोन चिएरपर्सन, लायन शुभद्रा तामाङ, अतिथि लायन्स वाङ्दी शेर्पा लगायतका उपस्थिति रहेको थियो ।

वडाध्यक्ष अधिकारीले वडा कार्यालयले विद्यार्थीहरूको आवस्यकता र पढाइको गुणस्तर वृद्धि गर्ने हौसला प्रदान गर्न क्लबको सहयोगमा वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको जानकारी दिए । उनले तेमाल वडा नम्बर १ का ती विद्यालयका ४ सय ६६ जना विद्यार्थीलाई सहयोगस्वरुप निःशुल्क न्यानो कपडा ट्र्याकसुट र टिसर्ट वितरण गरिएको बताए ।

विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यसअघि पनि स्वीटर वितरण गरिसकेको सुनाउँदै उनले ग्रामीण क्षेत्रमा अझै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दो अवस्था रहेको समेत बताए । उनले सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गर्न वडा र विद्यालयहरूबीच विभिन्न कार्यक्रम गरिरहेको समेत बताए ।

सोमबार जनचेतना माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा जनचेतना माविबाट प्लस टू पास गरेका ४० जना विद्यार्थीहरुलाई समेत वडा कार्यालयले बधाई र भावी दिनका उज्वल भविष्यको लागि हौसला प्रदान गर्न सम्मानपत्र समेत वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया