गरिव, महिला, युवा तथा दलित समुदायका लागि प्रेरणाकी स्रोत बनिन् सगुना, एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षा पास गरिन्

माघ । जति पढे पनि नेपालमा काम छैन, अझ गरिव र पिछडिएका जातिले त अवसर नै पाउँदैनन् भनेर निरास हुने र विदेशिक रोजगारिको सोच राख्नेहरुका लागि मुगुकी सगुना परियारले एक वर्ष भित्र लोगसेवाका ७ परिक्षामा नाम निकाल्न सफल भएर मेहनत गरेमा आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने गतिलो जवाफ दिएकी छन् ।

मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना परियार जसले आफूभित्रको आत्मविश्वासलाई देखाएकी छन् भने दृढ संकल्पलाई सफलतामा परिणत गर्न सफल भएकी छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–१, छत्यालवाडा गाउँकी सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छन् ।

हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजामा नाम निस्केसँगै सगुनाले एकै वर्षमा ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् । उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामति सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामति कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन् ।

दुर्गम ठाउँ, सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने केही थाहा हुँदैन थियो । मुगु दुर्गम जिल्ला, गरिव तथा दलित परिवार अझ छोरी मान्छेलाई नर्सिङ पेशासम्मको यात्रा उनका लागि सहज पनि थिएन । सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल नै थिइन् ।

परिवारको पूर्ण साथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन् । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ब्याक भएकी सगुनाले यस पटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् । सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भए लगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन् । नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनि थिइन् ।

तर कोरोना महामारीका कारण रोकियो । कोरोना महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरवन्दी खुलायो । त्यसपछि उनी लोकसेवा तयारी गर्न जागिर छोडेर काठमाडौं पुगिन् । काठमाडौंमा एक महिना जस्तो तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बिचमै रोकियो ।

त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षापश्चात नाम निस्के ठिकै छ, खालि किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् । त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो ।

उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छन् । आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् ।

‘आफूभित्र चाहाना, इच्छा र त्यहीअनुसार दृढता र लगाव हुनुपर्‍यो असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु नि पर्दैन, विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’ उनले भनिन् ।

नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको बताउँछिन् सगुना । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुन सक्ने उनको बुझाइ छ । सगुनाले आफ्नै गाउँ नजिक रहेको सामुदायिक विधालय महाकाली माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरी एसएलसी पास गरेकी थिइन ।

प्रतिक्रिया