वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको बताइएको छ ।

७७ वर्षीय वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका उनका थुप्रै गीत लोकप्रिय छन् । वरिष्ठ गायक वैद्यले नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय गीत गाएका छन् ।

उनले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए । १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका उनी रेडियो नेपाल पुगेका थिए ।

करिब ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ । गायक तथा संगीतकार वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल संगीतकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । उनका एक छोरा र दुई छोरी छन् ।

यस्ताे छ वरिष्ठ गायक योगेश वैद्यको ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’ गीत

प्रतिक्रिया