सर्लाही । केही दिन अघिसम्म उत्पादनको मूल्य नपाएको दुःखेसो गर्दै आएका किसानले अहिले टमाटरको मूल्य बढेपछि राहत महसुस गर्न थालेका छन् । सर्लाहीको हरिवन नगरपालिका–४ का किसान रामनाथ महतोले एक हप्ता अघिसम्म क्रेटको २ सय ५० देखि तीन सय रुपैयाँमा टमाटर बेच्ने गरेकोमा अहिले ६ देखि ८ सय रुपैयाँमा बिक्री हुन थालेको बताए ।
यहाँका किसानले उत्पादन गरेका टमाटरसहितका ताजा तरकारी देशका विभिन्न ठूला सहरहरूमा निर्यात हुने गरेको छ । अघिल्लो हप्तासम्म देशका प्रायः सबै ठाउँमा ताजा तरकारी उत्पादन हुँदा मूल्य घटेको र अहिले माघे संक्रान्तिपछि तरकारी र अचारको खपत बढेकोले मूल्य बढेको यहाँका किसानको बुझाइ छ । अहिले बजारमा कविता जातको टमाटरको मूल्य बढिरहेको छ भने अन्य लोकल जातको टमाटरको मूल्य त्यसको तुलनामा केही कम भए पनि केही दिन अघिको तुलनामा सन्तोषजनक रहेको हरिवन–४ मा टमाटर संकलन केन्द्रसमेत सञ्चालन गर्दै आएका किसान उमेश चौधरीले बताए ।
अहिले काठमाडौंबाट पनि गोलभेँडाको माग बढ्न थालेको व्यापारीहरूले बताएका छन् । हालसम्म यहाँका किसानहरूले उत्पादन गरेको गोलभेँडाको मूल्य काठमाडौंको कालिमाटी बजारले नै निर्धारण गर्ने गरेको छ ।
जिल्लाको सबैभन्दा व्यवस्थित लालबन्दीको कृषि थोक बजारमा लालबन्दीसहितका छिमेकी पालिकाका किसानले समेत आफ्नो उत्पादन बेच्न ल्याउने गरेका छन् । अहिले लालबन्दीको १७ नम्बर वडामा पनि कृषि बजार लगाउने तयारी भइरहेको छ भने अन्य पालिकाका विभिन्न स्थानमा व्यक्तिगत लगानीमा तरकारी संकलन केन्द्रमार्फत किसानले गोलभेँडा लगायतका तरकारी बेच्ने गरेका छन् ।
प्रतिक्रिया