मालढुंगा–बेनी सडक निर्माणमा सामग्री अभाव

क्रसर उद्योगमा गिट्टी र बालुवाको थुप्रो

पर्वत । कालीगण्डकी नदीको किनारमा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास बढिरहेको देखिन्छ । तर त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने मालढुंगा–बेनी सडकको निर्माण कार्य भने बालुवा र गिट्टीको अभावमा ठप्प छ ।

उता क्रसर व्यवसायीले लुकीछिपी रातीमा समेत अवैध रूपमा उत्खनन गरेर आफ्नो उद्योग निरन्तर सञ्चालन गरिरहेका छन् । मालढुंगा–बेनी सडक आयोजनाका निर्माण व्यवसायीले सम्झौताअनुसार नदी किनारमा उत्खनन गर्दा प्रहरीले उपकरण नियन्त्रणमा लिने, चालकलाई पक्राउ गर्ने र थुन्ने गरेका कारण सडक निर्माणले गति लिन नसकेको हो । पटकपटक थपिएको सम्झौता अवधि पूरा भइसक्दासमेत उक्त आयोजनाको काम ४५ प्रतिशत भन्दा हुनसकेको छैन । पुस मसान्तपछि सम्झौता अवधिसमेत सकिएको छ ।

पर्वतको मालढुुंगादेखि म्याग्दीको सदरमुकाम बेनीबजारसम्म जोड्ने यो १३ किलोमिटर सडक निर्माण सामग्रीकै अभावले पूरा हुन नसकेको निर्माण कम्पनी र आयोजनाको भनाइ छ । गत दसँैअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प जस्तै बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युत विलास पन्तले जानकारी दिए ।

सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्डमा निर्माण सामग्रीको अभाव मुख्य समस्या रहेको पन्तले जानाकारी दिए । ‘अधिकांश काम सकेर बेस बिच्छ्याउने बेला भएको छ सबैभन्दा बढी चाहिने बालुवा र गिट्टीको अभावमा कालोपत्रको काम गर्न सकेका छैनौँ’, पन्तले भने, ‘छेउछाउका क्रसर उद्योगका बालुवाका थुप्रा चुलिँदै छन् तर हामीलाई सामग्री अभाव छ ।’ राष्ट्रिय गौरवको आयोजना जिल्लामा सञ्चालन हुँदा प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायबाट सहयोग नपाएको गुनासो उनको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले प्रहरीको गस्तीका क्रममा अवैध रूपमा उत्खनन् गरेको देखेपछि उपकरण नियन्त्रणमा लिइएको बताए । उनले प्रक्रियाअनुसार नगरपालिकामा जरिवाना बुझाएर लैजान भनिए पनि उपकरण लिन आयोजनाका कुनै प्रतिनिधि नआएकोले ट्रिपर अझै नियन्त्रणमा रहेको बताए । आयोजनाले समन्वय नगरेको उनको आरोप छ ।

सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दुरीको मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४५ प्रतिशतभन्दा बढी प्रगति हुन सकेको छैन ।

कालीगण्डकी करिडोर आयोजना जोमसोमका इञ्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुंगा–बेनी सडकको ४५ प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार पुस मसान्तपछि सडक निर्माण सम्झौताका लागि तेस्रोपटक थपिएको म्यादसमेत सकिएको छ । थप गरिएको अवधि सकिएकाले पुनः म्याद थप गरेर सडक निर्माणलाई गति दिने प्रयास भइरहेको आयोजनाले जनाएको छ । गत वर्षको माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भएको भए पनि फेरि दसँैलगत्तै काम रोकिएको इञ्जिनियर पन्तले बताए ।

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटकपटक बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो । असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि काम रोक्नुपरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।

प्रतिक्रिया